
निजगढ,गौरीशंकर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष एकबहादुर श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवालाको भूमिका रहने बताउनु भएको छ ।
शैक्षिक संस्थालाई सुव्यवस्थित बनाएर लैजानुपर्ने भन्दै उहाँले सुधारका लागि सधैं लागिरहनु पर्ने बताउनुभयो ।
सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ ७ मा भएको शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । विद्यालयका शिक्षकहरूको बीचमा भएको अन्तरक्रियामा बोल्दै उहाँले विद्यालयको संस्थागत विकासका लागि हरेक सरोकरवालाको जिम्मेवारी रहने बताउनुभयो ।
विद्यालय र क्याम्पसबीच सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन भइरहेको भन्दै उहाँले विद्यालय तहबाट अध्ययन गरेर गएका विद्यार्थी पछि क्याम्पसमा भर्ना हुने भएकोले तल्लो तहबाट नै गुणस्तर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
सोही अवसरमा क्याम्पसका प्रध्यापक तथा अनुसन्धानकर्ता डा. मायानाथ घिमिरेले विद्यालयको अवस्था, सुधार गर्नुपर्ने कुरा तथा यसका लागि गर्नुपर्ने क्रियाकलापका बारेमा प्रस्तुति राख्नुभएको थियो ।
त्यसक्रममा विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णाकारले विद्यालय थप सुधार, विद्यार्थी संख्यामा वृद्धि लगायतका कार्यका लागि भइरहेका प्रयास तथा गर्न सकिने कामबारे बताउनु भएको थियो । आफुले गुणस्तरीय शिक्षा दिएर अभिभावकको मन जित्ने प्रयास गरिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले यसमा विद्यालय सफल हुँदै गईरहेको बताउनुभयो ।
नयाँ शैक्षिक सत्रमा विद्यार्थी संख्या वृद्धि गर्न अभिभावक भेटघाट, अन्तरक्रिया, छलफल लगायतका क्रियाकलाप गरिने प्रधानाध्यापक स्वर्णकारको भनाई छ । अन्तरक्रियामा विद्यालयका शिक्षकहरु हरिशरण सुवेदी, किरण, श्रेष्ठ, कल्पना आचार्य, अम्बिका घिमिरे, सविता पाण्डे, रिता तिमिल्सिना, रुपेश भट्टराई, निशा लामा, सरु थापा, सुरेन्द्र सुवेदी लगायतको सहभागीता रहेको थियो ।
यसैबीच हामीले गौरीशंकर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष एकबहादुर श्रेष्ठसंग सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको विगत र हालको अवस्था तथा विद्यालय तहबाटै शैक्षिक सुधार गर्न के गर्नुपर्ला भनेर सोधेका छौँ ।