तेस्रो मनहर्वा गोल्डकपको उपाधि वीरगञ्ज युनाइटेडलाई, हेटौडा २/० ले पराजित

                     
  नेपाल लेख   २०८० माघ २१, आईतवार १०:१६

सिमरा,वीरगञ्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधि उचालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित मौवादेवी खेल मैदानमा शनिवार भएको फाइनल खेलमा रिगल हेटौंडा रिसोर्टलाई २/० ले पराजित गर्दै वीरगञ्जले उपाधि हात पारेको हो । जितसंगै वीरगञ्जले दुई लाख नगद हात पारेको छ भने उपविजेता हेटौंडाले एक लाख प्राप्त गरेको छ । वीरगन्जको जितमा बिशाल खड्का र अमर डंगोलले समान एक÷एक गोल गरे । विशालको गोलबाट खेलको ३५औं मिनेटमा अग्रता लिएको वीरगञ्जका लागि अमरले ८८ औं मिनेटमा दोस्रो गोल गरेका थिए । प्रतिस्पर्धात्मक भिडन्तमा हेटौंडाले केही राम्रा अवसर बनाए पनि सदुपयोग भने गर्न सकेन । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडमा उभिएको हेटौंडा उपविजेतामा चित्त बुझाउन बाध्य भयो । विधागत पुरस्कारतर्फ वीरगञ्जले नै वर्चश्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार वीरगञ्जका अमर डंगोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारे ।

यसैगरी उत्कृष्ट गोलरक्षक वीरगञ्जका दिलमणी चौधरी, उत्कृष्ट डिफेन्स विकास चौधरी, उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गर्दा हेटौंडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाएका छन् । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित भए । यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधि आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच वीरगञ्जका सागर चौधरी घोषित भएका छन् । प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नम्बर १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष बसन्त खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए । माघ १३ गतेदेखि आयोजित प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै जीतपुरसिमराका उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेलकुदको विकासको लागि विद्यालय तहमै लगानी गर्नुपर्ने बताउनुभएको छ । नगर प्रमुख पौडेलले उपमहानगरपालिकाको कार्यालयले हाल दुई करोड ५४ लाख रुपैया खेलकुद क्षेत्रमा लगानी भईरहेको बताउनुभयो । राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका निम्ति खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिका अघि बढ्ने नगर प्रमुख पौडेलको भनाई थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?