सिमराः बाराको सिमरामा बिहीवार राती दुई वटा सहकारी संस्थामा एकैपटक चोरी भएको छ । जीतपुरसिमरा २ स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।
करिब दुई सय मिटरको दुरीमा रहेका दुवै सहकारीबाट रकम भने चोरी हुन पाएन । ताला फुटाएर कार्यालयभित्र प्रवेश गरेका चोरले रकम फेला नपारेपछि सिसि क्यामराको हार्डडिक्स चोरेर लगेका छन् । दुवै सहकारी संस्थाबाट सिसि क्यामरामा हार्डडिक्स चोरी भएको छ ।
झ्यालको ग्रिल निकालेर भित्र पसेका चोरले जनकल्याण सहकारीमा पैसा राख्ने भल्ट र दराजहरु फुटाएका छन् भने कागजात यत्रतत्र फालेका छन् । भल्ट र दराजमा पैसा नभेटेपछि चोरले क्यामराको हार्डडिक्स चोरेर लगेका हुन् ।
यता सिमरा महिला सहकारीमा भएको चोरीको प्रकृति उस्तै छ । चेन गेटको ताला फुटाएर भित्र पसेका चोरले पैसा नभेटेपछि क्यामराको हार्डडिक्स चोरी गरेका हुन् ।
सिमरा महिला सहकारीमा चोरी भएको यो दोस्रो पटक हो । यसअघि २०७९ साउन १२ गते उक्त सहकारी संस्थामा पहिलो पटक चोरी भएको थियो । सो समयमा पनि सिसि क्यामराको हार्डडिक्स लगिएको थियो ।
जीतपुरसिमरामा पछिल्लो समय सहकारी र वित्तिय संस्थामा चोरी हुने क्रम बढेको छ । यसअघि मनहर्वाका दुई वटा सहकारी संस्थाबाट लाखौं रकम चोरी भएको थियो । जीतपुरसिमरा १८ मनहर्वास्थित साना किसान कृषी सहकारी संस्थाबाट २०७९ असार १९ गते १२ लाख ७४ हजार रुपैया चोरी भएको थियो ।
यसैगरी मनहर्वामै रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा गत असोज र कार्तिकमा दुई पटक चोरी भयो । असोज २८ गते तीन लाख १७ हजार र कार्तिक २१ गते १३ हजार रुपैया चोरी भएको थियो ।
यस्तै जीतपुरसिमरा १८ स्थित उचिडिमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा मंसिर ३ गते ताला फोडेर प्रिन्टर र हार्डडिक्स चोरी गरिएको थियो । यता जीतपुरसिमरा १५ डुमरवानामा गत मंसिर ९ गते राती एटिएम मेसिन फोडेर रकम चोरीको प्रयास भएको थियो ।
चोरीका यी सबै घटनामा संलग्न व्यक्ति कानुनी दायरामा आउन सकेका छैनन् । चोरीका घटना बढ्न थालेपछि वित्तिय संस्थाले असुरक्षित महसुस गर्न थालेका छन् ।