निजगढ–बाराको निजगढ–८ बकैया पुलस्थित सप्तऋषि धर्मशाला परिषरमा सम्ब पुराण ज्ञान यज्ञ हुने भएको छ ।
श्रीराम प्रतिष्ठानको संयोजकत्वमा सप्तऋषि सेवा समितिको आयोजनामा भगवान् सूर्यको पूजा–आराधना, भजनकीर्तनसहितको सम्ब पुराण ज्ञान यज्ञ मंसिर २ गतेबाट हुने भएको हो ।
आयोजक समितिले धर्मशाला परिषरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सम्ब पुराण ज्ञान यज्ञको तयारी र कार्यक्रमबारे जानकारी गराईएको छ ।
नेपाल सन्त समाजका अध्यक्ष, हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश परमपूज्य श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूका प्रियशिष्य बालव्यास शास्त्री श्री अभिषेक ज्यूको प्रमुख वाचकत्वमा यज्ञ हुन गइरहेको आयोजक समितिकी अध्यक्ष विष्णु नेपालले जानकारी दिईन् ।
निजगढ ८ खयरघारीका स्थानीय समेत रहेका प्रमुख वाचक बालव्यास शास्त्री श्री अभिषेकले यो क्षेत्रमा पहिलो पटक सम्ब पुराण ज्ञान यज्ञ हुन गईरहेकाले भक्तजनहरुलाई सहभागि भएर कथा श्रवण गर्न आमन्त्रण गरेका छन् ।
यज्ञमा विभिन्न स्थानबाट पण्डित तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने जानकारी दिए । उनले यज्ञका अवसरमा ग्रह पुजा लगायतका विभिन्न कार्यसमेत गरिने भएकाले भक्तजनहरुले अवसरको सदुपयोग गर्न समेत आग्रह गरे ।
यज्ञको पूर्वसन्ध्यामा कार्तिक २९ गते पूर्वाह्न हुने र कार्तिक ३० गते (विहान ७ः०० बजे कलश यात्रा), कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म विहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म पूजा–पाठ, दिउसो १ः०० बजे – ५ः०० बजेसम्म संगीतमय कथा प्रवचन, सांझ ७ः०० बजेदेखि १०ः०० बजेसम्म भजन सन्ध्या र मंसिर ३ गते बिहान ७ः०० बजेदेखि ब्राह्मण पूजन एवं जप–हवन, विसर्जन कार्यक्रम रहेको जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा समितिकी पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सावित्रि भारतीले सम्ब पुराण ज्ञान यज्ञले यो क्षेत्रको प्रवद्धन र धार्मिक जागरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
समितिकी अध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार महेश्वर अधिकारीले गरेका थिए । कार्यक्रममा समितिका उपाध्यक्ष गणेश राजभण्डारी, सचिव रामप्रसाद ओझा, समाजसेवी केदारप्रसाद गौतम, सञ्चारकर्मी विपीन अधिकारी, अंकित गौतम लगायतको उपस्थिति रहेको थियो ।