निजगढ, निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका नायब सुब्बा .(लेखपाल) रुद्रप्रसाद धिताल राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुनुभएको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार पुरस्कार पाउनेहरुको नाम सार्वजनिक गरेको हो । दिवसको अवसरमा मन्त्रालयले निजगढका धिताल सहित देशभरिका विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मानित गर्ने निर्णय गरेको हो । २०५६ सालमा सेवा प्रवेश गर्नुभएका धिताल सोही समयदेखि गौरीशंकर माविको नायब सुब्बा सरहको सेवा सुविधा पाउने गरी लेखापाल पदमा कार्यरत हुनुहुन्छ । मधेस प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा रहेको सो विद्यालयमा हाल शिक्षा विभागले नमुना विद्यालय कार्यक्रम पनि लागू गरेको छ । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ५ ककडीप्रसौनास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रदेव कुशवाहा र कलैयाको दुर्गा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवदेशकुमार यादव पनि राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
त्यसैगरी सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । मन्त्रालयले सोमबार नै विभूषित हुनेहरूको नामावली पनि प्रकाशन गरेको हो । विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ ७ सय ९० जना, नेपाल विद्या भूषण (ख) तर्फ ७१, नेपाल विद्या भूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक (क) तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक (ख) तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।