निजगढ, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमितिमा अध्यक्ष पदको लागि २ जना सहित विभिन्न पदमा १९ जनाले मनोनय पत्र दर्ता गरेका छन ।
५ जना पदाधिकारीसहित ९ सदस्यीय कार्यसमितिको लागि आगामी भाद्र ३० गते हुने निर्वाचनको क्रममा शनिवार मनोनयन पत्र दर्ता गरिएको हो ।
निर्वाचन समितिका संयोजक ऋषव काफ्लेले दिएको जानकारी अनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुदर्शनप्रसाद कोइराला र टेकबहादुर भण्डारीले मनोनय पत्र दर्ता गराएका छन भने उपाध्यक्षमा रमेश अर्याल र इन्द्रप्रसाद दहाले उम्मेदवारी दिएका छन । कार्यसमितिको सचिव र कोषाध्यक्ष पदमा भने १\१ जनाको मात्रै उम्मेदवारी परेको छ । सचिवमा यतिराज सापकोटा र कोषाध्यक्षमा गीता भट्टराईले मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध चयन हुनेभएका छन । सहसचिव पदमा पनि २ जनाको उम्मेदवारी परेको छ । बुद्धीमान शाही र मनोज सापकोटाले सहसचिव पदमा उम्मेदवारी दिएका हुन ।
त्यसैगरी अनिवार्य महिला सदस्यमा सुमित्रा खडका, अमृता पाण्डे, सुश्रीराजकुमारी सिटौला, हरिमैया उपाध्याय पोख्रेल, कमला रेग्मी, सुनमाया लोप्चनले मनोनयन पत्र दर्ता गराएका छन । खुल्ला सदस्यतर्फ धु्रवप्रसाद धिताल, बलराम मगर, कैलाशकुमार चौधरी, यज्ञबहादुर राउत र बोधप्रसाद दङ्गाले उम्मेदवारी दर्ता गराएका छन ।
लेखा समितिको संयोजकमा पनि एकजनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन हुने भएको छ । सो पदमा रोशनकुमार तिमल्सिनाको एकल उम्मेदवारी परेको हो । लेखा समितिमा २ जना सदस्यहको लागि भने ४ जनाले मनोनयन पत्र दर्ता गरेका छन । राजकृति कुवर, संगीता तिमल्सिना (थापामगर), तेजबहादुर चौलागाई र अरुण लामाले लेखा समिति सदस्यमा मनोनयपत्र दर्ता गरेका हुन ।
निर्वाचन समितिका संयोजक काफ्लेका अनुसार उम्मेदवारहरुको विरोधमा आइतवार उजुरी दिने समय निर्धारण गरिएको र उजुरीमाथि छानबिन गरी ४ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सोमवार साँझ ५ बजेसम्म उम्मेदवारहरुले आफनो मनोनय पत्र फिर्ता लिने समय निर्धारण गरिएको र भदौं १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर २० गते उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको संयोजक काफ्लेले जानकारी दिनुभयो ।
संस्थाको कार्यसमिति निर्वाचनमा निजगढका राजनीतिक दलहरुबीच भएको सहमतिको आधारमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको हो । नेकपा एमाले, नेपाली कांग्रेश, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले आपसी सहमतिको आधारमा उम्मेदवारी दिएका हुन ।
आगामी भदौं ३० गते हुने निर्वाचनले एक जना अध्यक्षसहित १\१ जना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र ४ जना सदस्य तथा लेखा समिति संयोजकसहित ३ जना सदस्य चयन गर्नेछ । निर्वाचनमा ५ हजार १ सय १२ मतदाता रहेका छन ।
यता अध्यक्ष पदका उम्मेदवार सुदर्शन कोइरालाले सबै दलको सहमतिमा कार्यसमितिको चयन हुनु सकरात्मक पक्ष भएको भन्दै अघिल्लो कार्यकालमा अधुरो रहेको काम पुरा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।