हतकडीसहित भ्यानबाट खोसेर भगाइएका लामाले गरे आत्मासमर्पण

                     
  नेपाल लेख   २०८० श्रावण १८, बिहीबार २१:०९

निजगढ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ टाँगियाबस्तीमा स्थानीयले प्रहरीको भ्यानबाट हतकडीसहित खोसेर भगाइएका ३५ वर्षका सागर लामाले बुधवार प्रहरीमा आत्मासमपर्ण गरेका छन् । हतकडीसहित भगाइएका लामा आफै प्रहरी कार्यालयमा आएका हुन । तर ईलाका प्रहरी कार्यालय निजगढका बरिष्ठ प्रहरी नायब निरीक्षक कलम बहादुर शाहीले उनलाई बुधवार दिउँसो निजगढ बजारबाट नियन्त्रणमा लिएको बताउनुभएको छ । अवैध हातहतियार राखेको अभियोगमा बुधवार ईलाका प्रहरी कार्यालय निजगढको टोलीद्वारा पक्राउ गरेर निजगढ ल्याउने क्रममा स्थानीयको एउटा समुहले बाटोमा अवरोध गरी लामालाई प्रहरीको भ्यानबाट खोसेर भगाएका थिए । लामालाई खोसेर लैजाने क्रममा दुबै पक्षबीच केहीबेर दोहोरो भिडन्त परेको थियो । भिडन्तमा प्रहरीले ५ राउण्ड हवाइ फायर गर्नुपरेको थियो भने ईलाका प्रहरी कार्यालय निजगढका दुईजना प्रहरी सामान्य घाइते बनेका थिए ।

लामाले घरमा ठुला हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा १५ जनाको टोलीले लामाको घरमा छापामारी गरेको थियो । सो क्रममा लामाको घरबाट लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको जस्तो देखिने २ वटा दारा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?