फरार वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा,

                     
  नेपाल लेख   २०७९ पुष १८, सोमबार २०:२२

निजगढ, नाबालिकामाथि बलात्कार गरेको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको फरार सुचिमा रहेका वडा अध्यक्ष श्रेष्ठलाई आईतबार साँझ ८.३० बजे ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो । श्रेष्ठलाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले बताउनुभयो । छिमेककी एक १५ वर्षिय किशोरीलाई जबरजस्ति करणी गरेको आरोप लागेपछि वडा अध्यक्ष श्रेष्ठ ३ महिनादेखि फरार रहेका थिए । छिमेकी किशोरी माथि जवरजस्ति करणी गरेको अभियोगमा प्रहरी कार्यालय निजगढमा श्रेष्ठ विरुद्ध गत असोज २५ गते जाहेरी दर्ता भएको थियो । जबरजस्ति करणी अभियोगमा जाहेरी परेपछि जिल्ला अदालत बाराले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । खोजतलास क्रममा प्रहरीले श्रेष्ठ लुकेर बसेको हुन सक्ने शंभावित स्थानमा निगरानी बढाउनुको साथै मोबाइल फोन समेत ट्यापिङ्ग गर्दै आएको थियो । प्रहरीले खोजतलास र निगरानी तीव्र पारेपछि बाध्य भएर प्रहरी समक्ष आफै आएको प्रहरी निरीक्षक ओलीले बताउनुभयो । अभियुक्त श्रेष्ठलाई सोमबार जिल्ला अदालतमा पेश गरी म्याद लिएर थप अनुसन्धान गर्न थालीने उहाँले बताउनुभयो । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?