बाराका सबै मतदान स्थलमा मतपेटिका र मतपत्र पुग्यो, निर्वाचन सुरक्षा व्यवस्था कडा

                     
  नेपाल लेख   २०७९ मंसिर ३, शनिबार २०:४६

बारा, मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान स्थलमा मतपेटिका सहित मतपत्र पुगेका छन् । निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुले मतदानका लागि आवश्यक सम्पूर्ण सामाग्री मतदान केन्द्रमा आइपुगेको जनाएका हुन् ।

सुरक्षाकर्मी, कर्मचारी र निर्वाचन सामग्री आएसँगै मतदानका लागि ब्यवस्थापन तयारी गर्ने कामको थालनी भएको जितपुरसिमरा १८ बडहर्वास्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा खटिएका सहायक मतदान अधिकृत मुनीलाल कुस्वाहाले बताउनुभयो ।

यता जिल्लाभरिका मतदान स्थलहरुमा मतपत्र सहित मतपेटिका शुक्रबार पुर्याईएको निर्वाचन कार्यालय बाराले जनाएको छ । जिल्लाका ३ सय ५ मतदान केन्द्र र ५ सय ५५ मतदान स्थलहरुमा प्रतिस्थल ५ वटाका दरमा मतपेटीका पुर्याईएको निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो ।

‘४ वटा मतपेटिकाले नै काम पुरा हन्छ, उहाँले भन्नुभयो, कहिँ अपुग वा समस्या भए थप गर्न सहज होस् भनेर थप १ समेत गरी ५ वटा पठाएका छौं । मतपेटिकासँगै मतपत्र सहित आवश्यक ८४ प्रकारका सामन पठाएका छौं ।’

उता, सुरक्षाकर्मी भने बिहीवार बाट नै मतदान केन्द्र रहेका विद्यालयहरुमा पुगेका छन् । शुक्रबार मतदान अधिकृत सहितका कर्मचारीहरुसंगै मतपत्र र मतपेटिका पुगेको हो ।

एक मतदान केन्द्रमा मतदाता संख्याका आधारमा बढिमा १२ जनासम्म कर्मचारी खटिएका छन् । जसमा नियमित कर्मचारी ८ र स्वयंसेवक ४ जना रहने ब्यवस्था गरिएको निर्वाचन कार्यालय प्रमुख चौधरीले जनाउनुभयो ।

जिल्लामा जम्मा ४ लाख ३३ हजार ५०४ जना मतदाता छन् । ३ सय ५ मतदान केन्द्र ५ सय ५५बाट मतदान स्थलबाट मतदाता निर्वाचनमा मत दिन सहभागि हुने उहाँले बताउनुभयो ।

यस्तै मतदान केन्द्रहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरीएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले जिल्लामा रहेको मतदान केन्द्रमध्ये सुरक्षा शंवेदनशीलताको आधारमा सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्रको पहिचान गरी सोही अनुसार सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?