बारा, शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग नदिएपछि विद्यार्थीहरुले बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका करिब ५ सयको संख्यामा आएका विद्यार्थीहरुले कार्यालयमा नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।
कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पु¥याएको सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवारले बताए ।
नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणको लागि १०÷१० लाख रुपैया आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए । तर नगरपालिकको नयाँ बैङ्क खाता संचालनमा नआएकोले विद्यालयमा पैसा पठाउन नसकिएको मेयर कलवारले बताए । अहिले डेङ्गुको प्रकोप पनि रहेको र बैङ्क खाता पनि नखुलेकोले दशैपछि विद्यालयमा पैसा पठाउने विद्यार्थीहरुलाई उनले आश्वासन दिएका थिए ।
सोही विषयमा नगरपालिकाको कार्यालयमा ३ वटै विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल चलिरहेको अवस्थामा विद्यार्थीहरुले एक्कासी ढुङ्गामुडा गर्दै तोडफोड सुरु गरेका हुन । कचोर्वा माविका प्रधानाध्यापक शम्भुप्रसाद यादवका अनुसार छलफलमा बैङ्क खाता खुलेपछि विद्यालयको आर्थिक अवस्था हेरेर नगरपालिकाले रकम निकासा गर्ने सहमति भएको छ ।
‘कार्यालय बाहिर बसेका विद्यार्थीहरुले छलफलको निर्णय बारे बुझ्दैनबुझी तोडफोड गरेका छन्,’ प्रधानाध्यापक यादवले भने । तोडफोड नियन्त्रणको लागि प्रहरीले प्रहार गरेको लाठी लागेर केही विद्यार्थी सामान्य घाइते समेत भएका छन् । तोडफोड भएपछि बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायतको टोली घटनास्थल पुगेको थियो ।