(निजगढ) संविधान दिवसको अवसरमा निजगढ नगरपालिकाको कार्यालयले आज सोमबार सरसफाइ तथा झण्डोलोत्तन कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले कार्यालयले परिसरमा सरसफाइ गर्नुको साथै नगर प्रमुख सुरथ पुरीले नेपालको राष्ट्रिय झण्डा झण्डोलोत्तन गर्नुभएको हो । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, विभिन्न वडाका वडा अध्यक्षहरु, निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरु एवम् नगर कार्यपालिकाको कार्यालयका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । झण्डोलोत्तनपछि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले नेपालको संविधानले सबै वर्ग, समुदाय, क्षेत्र, भाषा भाषीको हक अधिकारको संरक्षण, समानुपातिक समावेशीताको सुनिश्चिता गरी राष्ट्रिय एकतालाई दरिलो बनाएको बताउनुभयो ।
त्यसैगरी संविधान दिवसको अवसरमा आज सोमबार बिहान निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको पहलमा ठोडो लाईनमा पनि सरसफाइ गरिएको छ । वडा अध्यक्ष रामचन्द्र कटुवालको सक्रियतामा भएको सो सरसफाइ कार्यक्रममा ईलाका प्रहरी कार्यालयदेखि दक्षिणतर्फ गौरीशंकर क्याम्पससम्मको सडकको दायाबाया क्षेत्रको झाडी, बुट्यान र नालाको पनि सफाइ गरिएको थियो । कार्यक्रममा क्याम्पस रोड टोल बिवकास अध्यक्ष फडिन्द्र सापकोटालगायत स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरुको पनि सहभागी रहेको थियो । त्यसैगरी संविधान दिवसको अवसरमा आज कलैयामा प्रभातफेरीको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ बारा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी निकालिएको हो । कलैया स्थित जिल्ला प्रशासन कार्यालयबाट निकालिएको प्रभातफेरी सभामा परिणत भएको थियो । प्रभातफेरीमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहरी उपरिक्षक होविन्द्र बोगटी, विभिन्न सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, विभिन्न विद्यालयका शिक्षक र छात्रछात्रा, सरकारी कार्यालयका कर्मचारी, पत्रकार महासंघ बाराका सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । प्रभातफेरीपछि आयोजित सभालाई प्रमुख जिल्ला अधिकारी कटुवाल लगायतले सम्बोधन गरेका थिए । दिवसको अवसरमा जिल्लाभर विभिन्न संघसंस्था र सरकारी निकायले विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेका छन् ।