
बारा,रौतहटको चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावले स्थानीय सरकारको नियमित सेवा प्रवाहमा गम्भीर प्रभाव परेको छ। साढे दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका अधिकांश कामकाज ठप्पजस्तै भएका छन् ।
नगरप्रमुख सञ्जयकुमार काफ्लेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालसम्म पनि उपसचिव नपठाएकोमा चिन्ता व्यक्त गर्नुभयो। चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा सशर्ततर्फका बजेट फ्रीज हुने सम्भावना बढेको उहाँको भनाइ छ। “केही योजना सम्झौतामै पुग्न सकेका छैनन् भने सम्पन्न योजनाको भुक्तानी रोकिएको छ,” काफ्लेले भन्नुभयो, “सेवाग्राही दिनहुँ गुनासो लिएर आउँछन् तर हामीकहाँ हस्ताक्षर गर्ने अधिकार प्राप्त व्यक्ति नै छैन ।”
नगरपालिकाकी उपप्रमुख जयमाला कुमारी चौधरीले समयमै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता हुँदाहुँदै पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाएकाले आगामी आर्थिक वर्षका लागि नगरसभा समेत अन्योलमा परेको बताउनुभयो। उहाँले यथासिघ्र अधिकृत खटाइदिन आग्रह समेत गर्नुभयो ।
अधिकृत अभावले नगरपालिकाका स्थायी कर्मचारीदेखि करारमा रहेका कर्मचारीसमेत समस्यामा परेका छन्। लेखा प्रमुख अर्पणा देवकोटाका अनुसार स्थायी कर्मचारीले दुई महिना र करारकर्मीले तीन महिनादेखि तलब नपाएको अवस्था छ । “कार्यालय खुलेको हुन्छ, कर्मचारी उपस्थित हुन्छन्, तर निर्णय गर्ने अधिकार नभएपछि काम नगरी बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।
चन्द्रपुरवासी सेवाग्राही र कर्मचारी दुवै प्रभावित भइरहेका बेला मन्त्रालयको चासो नदेखिनु प्रति स्थानीय तहका जनप्रतिनिधिले असन्तोष व्यक्त गरेका छन् । समयमै प्रमुख प्रशासकीय अधिकृत खटाइ स्थानीय सेवा प्रवाह सहज बनाइदिन सरोकारवालाहरूको माग छ ।