निजगढ, अमलेखगंजबाट २२ केजी लागूऔषध गाँजा सहित चार जना पक्राउ

                     
  नेपाल लेख   २०८१ पुष ३, बुधबार १९:२४

बारा,बाराको निजगढ र अमलेखगंजबाट प्रहरीले अवैध लागूऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका– ४ बकैया खोलाको बाँध कच्ची सडकबाट अवैध लागूऔषध गाँजा ६ किलो ७ सय ६० ग्राम सहित दुई जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट फतुवा बिजयपुर नगरपालिका– ४ बस्ने २५ वर्षीय राम प्रबेश महतो र सोही नगरपालिका– ९ बस्ने २१ वर्षीय राजेश महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बागदेवबाट पुरानो निजगढतर्फ आउदै गरेको प्र.०२–०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी बारा प्रहरीले लागूऔषध गाँजासहित अमलेखगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना भारतीय नागरिक रहेका छन् । हेटौंडाबाट सिमरातर्फ आउँदै गरेको भारतीय नम्बरको कारलाई अमलेखगञ्जमा जाँच गर्ने क्रममा प्रहरीले १५ किलो गाँजा बरामद गरेको थियो । सो क्रममा प्रहरीले कारमा सवार दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठले बताउनुभयो । पक्राउ पर्नेमा कार चालक भारत पूर्वीचम्पारण मोतिहारीका २६ वर्षीय अखिलेशकुमार साह र कारमा सवार सोही ठाउँका १९ वर्षीय राजकुमार पासवान रहेका छन् । कारको सिट मुनी फल्स बटम बनाएर चार वटा पोकामा लुकाएर ल्याउँदै गरेको गाँजा बरामद भएको हो । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी अनुसन्धान भईरहेको निमित्त सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?