बाराको तामागढी–सिम्रौनगढ सडक निर्माणको आन्दोलनकारी धर्ना स्थगित

                     
  नेपाल लेख   २०८० फाल्गुन २४, बिहीबार २१:३२

बाराको तामागढी–सिम्रौनगढ सडक निर्माणको क्रममा सडकको ‘राइट अफ वे’ मा परेको जमिनको मुआब्जा माग गर्दै २ सातादेखि निजगढको तामागढीमा धर्नामा बसेका आन्दोलनकारीहरुले बिहीवारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन ।

देशमा बदलिएको राजनीतिक अवस्था र नजिकिदै गरेको चाडबाडलाई ध्यानमा राखेर पीडितहरुले धर्नासहित आन्दोलनका सबै कार्यक्रम अनिश्चितकालसम्मको लागि स्थगित गरेका हुन ।

देशको सरकार परिवर्तन भएर नयाँ मन्त्रीहरु आएको अबस्थामा हाल आन्दोलन जारी राख्नु औचित्यपूर्ण नदेखिएकाले धर्ना रोक्नुपरेको तामागढी– सिम्रौनगढ सडक सहयोग तथा मुआब्जा सङ्घर्ष समितिका अध्यक्ष रामबाबु साह तेलीले बताउनुभयो । ‘नयाँ सरकार बनेको छ, उहाँले भन्नुभयो, केही दिन हेरौं, यो सरकारले पनि सुनुवाई गरेन भने फेरि पनि आन्दोलन शुरु गरिने छ ।’ उहाँले प्रधानमन्त्री पुरानै भएपनि नयाँ आएका विभागीय मन्त्रीहरुलाई समस्या बारे अध्ययन गर्न समय दिन केही दिनको लागि आन्दोलन रोक्नुपरेको उहाँको भनाई छ । आन्दोलन रोक्ने निर्णयसंगै धर्ना बस्न भनेर उक्त क्षेत्रमा राखिएको टेन्ट पनि हटाइएको छ ।

यसअघि आइतवार नै नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलसहितको टोलीले तामागढीमा पुगेर धर्नाकारीहरुसंग भेटेर आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । नेता पौडेलले पनि मन्त्रीमण्डल पुर्नगठन भएको केही दिनमात्रै भएको र नयाँ आएका मन्त्रीहरुलाई मुआब्जा बारे अध्ययन गर्न समय दिनुपर्ने भन्दै आन्दोलन स्थगित गरेर वार्ताको वातावरण बनाउन आन्दोलनकारीहरुसंग आग्रह गर्नुभएको अध्यक्ष तेलीले जानकारी दिनुभयो । ‘नेताहरुले पनि आन्दोलन रोक्न आग्रह गर्नुभयो, अध्यक्ष तेलीले भन्नुभयो, उहाँहरुको आग्रह उचित लागेकोले रोक्ने सहमति भएको हो ।’

एमाले नेता पौडेलसंग अर्का नेता एवंम बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका पूर्वसदस्य मुकुन्द न्यौपाने, ढुण्डिराज उप्रती, गोविन्द पौडेल, सुदर्शन कोइराला, रामु खनाललगायतको उपस्थिति रहको थियो । टोलीले संघर्ष समितिका अध्यक्ष साहसहित समितिका अर्का अध्यक्ष अनबर अन्सारी, उपाध्यक्ष राजदेव चौधरी, सचिव प्रकाश चौधरी, कोषाध्यक्ष शंकर मैनाली, सदस्यहरु श्यामसुन्दर चौधरी, जयदेव चौधरी, सन्दिप चौधरी र रामु खनाललगायतसंग आन्दोलन रोक्ने बारेमा छलफल गरेको हो ।

२ वर्षअघि तामागढी– सिम्रौनगढ सडक निर्मार्णको क्रममा अधिग्रहण गरिएका बाराको कोल्हबी र सिम्रौनगढ नगरपालिका तथा बारागढी, आदर्शकोतवाल गाउँपालिकाका पीडित किसानले सरकारले तोकेको मुअब्जा रकम माग गर्दै तामागढी गेटमा गत फाल्गुन १० गतेदेखि धर्ना दिदैआएका थिए । शुरुमा पूर्वपश्चिम राजमार्गमा धर्ना दिने कोशिस गरेपनि सुरक्षाकर्मीले रोकेपछि उनीहरुले तामागढी– सिम्रौनगढ सडकको तामागढी गेटको पश्चिमी किनारामा पाल टाँँगेर धर्ना थालेका हुन । २४ सैं घण्टा धर्ना दिदैआएका उनीहरुले आन्दोलनकारीहरुको खानपिन र बसोबासको लागि तामागढीमै मेस पनि सन्चालन गरेका थिए ।

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि जमिनको मुअब्जा नपाएपछि सो क्षेत्रका करिव १ हजार जग्गाधनीको ६५ बिगाहा जमिनको मुआब्जा बापत करिब २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ रकम माग राखेर जग्गाधनी किसानहरु आन्दोलितमा उत्रिएका थिए ।

भारत सरकारको अनुदान सहयोगमा २०७८ चैत १८ गते निर्माण सम्पन्न भएको ३९.७५ किलोमिटर लामो तामागढी– सिम्रौनगढ हुलाकी सडक निर्माणको क्रममा घर र जग्गा पर्नेहरुलाई सरकारले प्रतिकठ्ठा १५ लाखदेखि ३० लाखसम्म मुआब्जा दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?