निजगढ, निजगढ–८ स्थित गौरीशंकर माध्यमिक (प्रस्तावित नमूना) विद्यालयको प्राविधिक शिक्षालय भवनको शुक्रवार एक कार्यक्रमबीच शिल्यान्यास गरिएको छ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले नमुना विद्यालय विकास गुरुयोजना कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको सो भवनको विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिल्यान्यास गर्नुभएको हो । ४ करोड ७५ लाख ३९ हजार २८० रुपैया लागतमा निर्माण हुने सो भवन निर्माणको लागि शिक्षा विभागबाट २ करोड ४२ लाख ५० हजार रुपैया विद्यालयको खातामा निकासा आइसकेको विद्यालयका प्रधानाध्यापक बद्री नारायण झाले बताउनुभयो । उहाँका अनुसार रकम प्राप्त भएपछि गरिएको विद्युतीय बोलपत्रमा हेटौडाको डि एण्ड एस जभिले निर्माणको ठेक्का पाएको र डेढ वर्षभित्र भवनको निर्माण कार्य पुरा हुने छ । आर्थिक वर्ष ०७६/०७७ मा नै नमुना विद्यालयको रुपमा छनौटमा परेको सो विद्यालयमा शिक्षा विभागले हरेक वर्ष १/१ करोड रुपैयाको दरले लगातार ५ वर्षसम्म आर्थिक सहयोग उपलब्ध गराउने विद्यालयका लेखा अधिकृत रुद्र धितालले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि बर्तौलाको अध्यक्षतामा भएको सो भवन शिल्यान्यास कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, कार्यपालिकाका सदस्य र स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको पनि उपस्थिति रहेको थियो ।