प्रेसशिलशिला
जेष्ठ २२ (काठमाण्डौँ)
नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने अग्ला पुलहरु निर्माणको काम रोकेको छ । ठेकदार कम्पनीहरुले गरेको कामको पुनरावलोकन र समीक्षा गर्न भन्दै सेनाले सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न निर्देशन दिएको थियो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार निर्माण कम्पनीलाई नभएर निर्माणको काम मात्रै निलम्बन गरिएको हो । अब परामर्शदाता कम्पनी र निर्माण कम्पनीले संयुक्त रुपमा ‘फिल्ड भिजिट’ (निर्माण स्थलको निरीक्षण) गरेपछि निलम्बन फुकुवा हुने सिलवालले बताउनुभयो ।
‘सोमबारदेखि ती दुवै प्याकेजमा भएका कामको समीक्षा हुन्छ,’ उहाँले भन्नुभयो, त्यसका लागि परामर्शदाता पनि फिल्ड जान्छ ।
सुरुङमार्गहरू बनाउन दुई वटा प्याकेजमा ठेक्का लागेको छ । ईपीसी मोडलको ठेक्काअनुसार ठेकदारहरुले निर्माणको काम गरिरहे पनि गत सुस्त छ ।
यी दुई प्याकेजको लागत नेपाली मूल्यअनुसार ४४ अर्ब रुपैयाँ छ । एउटा प्याकेजअन्तरगत मकवानपुरको धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माण अघि बढेको छ । यो काम पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३३७ रुपैयाँमा सो कामको ठेक्का पाएको थियो ।
मकवानपुरकै महादेवडाँडामा अर्को ३.३ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ बुटवाल–नारायणगढ सडकखण्डको ठेकदार कम्पनी हो । कम्पनीले लामो समय भइसक्दा पनि सो सडकखण्डमा सुस्त ढंगले काम गरिरहेको छ ।