
निजगढ,नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको १३२ केभी प्रशारण कन्डक्टर अपग्रेडिङ आयोजनाले निजगढ क्षेत्रका केही स्थानहरूमा दुई दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार पिलुवा–नवलपुर १३२ केभी प्रशारण लाइनमा रहेका पुराना कन्डक्टर, टीएफ कनिक्टर र एसेसरिजहरूलाई नयाँ प्रविधिको सामग्रीले प्रतिस्थापन गरिँदैछ। प्रणाली सुधारको यो कार्यका कारण निजगढ ३३ केभी सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा अस्थायी रूपमा सेवा रोकिने बताइएको छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार आज बुधबारदेखि भोलि बिहीबारसम्म बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म दैनिक १३ घण्टा विद्युत आपूर्ति बन्द हुनेछ। यस क्रममा निजगढ नगरपालिका क्षेत्रको बजार क्षेत्र, वडा नम्बर ७, सहिद चोक आसपास, भण्डारी टोल, अवतार टोल, सडक टोल, घियाल टोल, पश्चिम माझी टोल, योजना टोल, लखन (नेत्रोदय) चोक, गणेश मन्दिर पूर्वतर्फका बस्तीहरू प्रभावित हुनेछन् ।
विद्युत आपूर्ति न्यूनतम प्रभावित हुने गरी वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। साथै, निर्धारित समयभन्दा अघि नै कार्य सम्पन्न भएमा लाइन तत्काल सञ्चालनमा ल्याइने जानकारी समेत दिइएको छ।
स्थानीयवासी र व्यवसायीहरूले समयमै सूचना प्राप्त भए तापनि लामो समयसम्मको विद्युत अवरोधले दैनिक जीवन र व्यवसायमा असर पर्ने जनाएका छन्। प्राधिकरणले भने सुधारपश्चात् विद्युत सेवा थप स्थिर र भरपर्दो हुने विश्वास व्यक्त गरेको छ।