२०७८ जेष्ठ ३ साेमबार, काठमाडौं । नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन्।
तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका छन्।
उनीसँगै आफूलाई योगी नरहरिनाथको चेला भएको दाबी गरेका प्रेम कैदीले समेत उक्त बुटीको बारेमा फेसबुकमा भिडियोहरू राखेका छन्। एक अर्कालाई ट्याग गर्दै राखेका भिडियोमा उनीहरूले त्यो टिप्ने, खाने तरिकादेखि लिएर सङ्क्रमितहरूले आफूहरूलाई खबर गरेमा घरघरसम्म पुर्याइदिने बताएका छन्।
गत वैशाख २९ गते फेसबुकमा राखिएको पोष्टलाई सोमबारसम्म चार हजार ३ सयभन्दा धेरैपटक सेयर गरिएको छ। एउटा भिडियो ७३ हजारभन्दा धेरैले फेसबुकमा हेरेका छन् भने त्यसलाई समेत २ हजारभन्दा धेरै सेयर गरिएको छ।
सयभन्दा बढीको सङ्ख्यामा उनीहरूका अन्य केही भिडियोहरू समेत सेयर भएका छन्। उनीहरुले ती बुटी आफ्नै भाइ, सासु र दिदीलाई खुवाएको बताएका छन्।
उक्त बुटी कोरोनाभाइरसको औषधि भएको भन्दै एक वर्षअघि योहो टेलिभिजनमा प्रेम कैदीले पत्रकार जीवराम भण्डारीलाई अन्तर्वार्ता दिएका थिए। जसको क्लिप सो टेलिभिजनको आधिकारिक फेसबुक पेजमा अझै रहेको छ। युट्युबमा समेत पीएनपी टिभी, एभरेष्ट नेपाल नामका युट्युब च्यानलमा प्रेम कैदीका त्यससम्बन्धी भिडियो हेर्न पाइन्छ।
ती भिडियोमा उनले उक्त बुटीले कोरोनाभाइरससहित १००८ किसिमका रोग निको पार्ने दाबी गरेका छन्। सो भिडियो हजारौँपटक हेरिएको छ। आममानिसमा उक्त बुटीबारे चासो र उत्सुकता रहेको पाइएकोले साउथ एसिया चेकले त्यसबारे वनस्पति र आयुर्वेदका विज्ञहरूसँगको कुराकानीका आधारमा यो सामग्री तयार पारेको छ।
कस्तो हो यो ‘बुटी’?
साउथ एसिया चेकले यस वनस्पतिको पहिचानका क्रममा केही वनस्पति र आयुर्वेदका विज्ञहरूसँग सम्पर्क गरेको थियो। उनीहरूबाट एकैखाले जवाफ नपाइएपछि हामीले सो वनस्पति मगाएर विज्ञहरुको सहयोगमा त्यसबारे थप अध्ययन गर्याैं। त्यसलाई औषधि भनी दाबी गर्ने व्यक्तिले बागमती नदी किनारमा उम्रिएको त्यसको विरूवा हामीलाई देखाए। उनीहरुबाट त्याे विरुवा लिएपछि त्यसबारे जानकारी लिन हामीले वनस्पतिविद्हरूलाई सम्पर्क गर्याैं।
यस क्रममा हामीले गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा समेत त्यसको फोटो पठायौँ। सोको नमूना राखिएको उक्त प्रयोगशालाका प्रमुख सुवाष खत्रीले त्याे चिनोपोडियम प्रजातिको एक वनस्पति भएको बताए। उनले भने, ‘चिनोपोडियम (Chenopodium ambrosionides) हामीले खाने बेथेको सागसँग मिल्दोजुल्दो वनस्पति हो। त्यसको फूल र बिउका आधारमा अझ साँघुरो तरिकाले वर्गिकरण गर्न सकिन्छ।’