निजगढका पौडेल एमाले सचिवमा उम्मेदवार बन्ने, मधेसदेखि केन्द्रसम्म चासो

                     
  नेपाल लेख   २०८२ मंसिर १५, सोमबार ११:०४

बारा,नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा मधेस प्रदेशबाट सचिव पदमा उम्मेदवारी दिने नेताहरूबीच रोचक प्रतिस्पर्धा देखिन थालेको छ । सो पदका लागि बाराको निजगढ निवासी नेता पुरुषोत्तम पौडेलले उम्मेदवारी दिने पक्का भएको पुष्टि गरिएको छ ।

पार्टीभित्र तार्किक सोच, स्पष्ट वक्तृत्व, दूरदर्शी राजनीतिक लक्ष्य तथा सङ्गठन निर्माणमा सक्रिय भूमिका राख्ने नेताका रूपमा परिचित पौडेलको उम्मेदवारीले मधेस प्रदेश मात्र होइन, केन्द्र स्तरमै चासो बढाएको एमाले नेताहरूको प्रतिक्रिया छ ।

निजगढ नगर कमिटीका अध्यक्ष तिलक घलानका अनुसार पौडेलले मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गरी सचिव पदमा उम्मेदवारी दिने अन्तिम तयारी पूरा गरिसकेका छन् ।

“सङ्गठनका लागि दिन–रात दौडिने नेता पौडेललाई सचिव जस्तो जिम्मेवारी पाउन ढिलाइ मात्रै भएको हो, अवसर भने यही महाधिवेशनले दिनेछ,” घलानले बताएका छन् ।

पार्टीभित्र स्थापित र अनुभवसहितका नेता :-

पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका पौडेल हाल एमालेको पोलिटब्युरो सदस्य हुन् । मन्त्रीका रूपमा अल्पकालीन कार्यकाल हुँदै पनि उनले युवा परिषद गठन, खेलकुद बजेट वृद्धि तथा थुप्रै पूर्वाधार निर्माणका कामहरू अघि बढाएका थिए ।

यस्तै, नेपाल खेलकुद महासंघको नेतृत्व लिँदै उनले देशभरका सबै जिल्लामा जिल्ला कमिटी गठन र सबै प्रदेशमा संरचना विस्तार गरेपछि संगठन विस्तारमा उनको भूमिका अझै स्मरणीय मानिने गरेको छ ।

कार्यकर्तामै लोकप्रिय, सहज र पहुँच योग्य नेता :-

पौडेललाई कार्यकर्तामाझ सदाचारयुक्त जीवनशैली अपनाउने, भेट्न सहज र समस्या सुन्न तत्पर नेताका रूपमा लिने गरिन्छ ।

निजगढ नगर कमिटी अध्यक्ष घलान भन्छन्, :-

“उहाँसँग भेट्न सहज, समस्या भन्न सहज, समाधान पाउन झनै सहज — उहाँजस्ता लोकप्रिय नेता संगठनमा कमै छन् ।”

अवसरबाट बञ्चित भइरहे पनि निरन्तर सक्रिय :-

पार्टीभित्र लोकप्रियता र योगदान हुँदाहुँदै पनि पौडेल विगतका महाधिवेशन तथा जिम्मेवारी पाउने अवसरबाट बारम्बार बञ्चित हुँदै आएको चर्चा रहँदै आएको छ ।

संगठनमा उनीभन्दा पछिका कतिपय नेताहरू उपमहासचिवदेखि सचिवालयसम्म पुगेका अवस्थामा पौडेल भने निरन्तर कार्यकर्ता भेटघाट, राजनीतिक कार्यक्रम, संगठन र संरचना विस्तारमा सक्रिय रहँदै आएका छन् ।

यही निरन्तरताले उनलाई फेरि एकपटक पार्टीभित्रको मुख्य चर्चामा ल्याएको विश्लेषण गरिन्छ ।

प्रतिनिधि छनोटपछि पौडेलको नाम झनै गुन्जिन थालेको :-

महाधिवेशनका लागि प्रतिनिधि छनोट मंसिर १३ गते देशभर सम्पन्न भएपछि अब प्रतिस्पर्धी नेताहरूबीच छलफल र समर्थन सङ्कलन तीव्र बनेको छ । यही क्रममा पौडेलको नाम प्रतिनिधिका बीच झनै तेज गतिमा गुन्जिन थालेको एमाले स्रोतहरूले बताएका छन् ।

विशेषगरी मधेस प्रदेशबाट ईश्वर पोखरेल निकट समूहका तर्फबाट सचिव पदमा पौडेल उभिने सम्भावना बढी रहेको विश्लेषणसँगै एमालेभित्रको प्रतिस्पर्धा नयाँ मोडतर्फ अग्रसर भएको देखिन्छ ।

एमालेमा नयाँ बहस र ऊर्जा :-

पार्टीभित्र उनलाई धेरैले सङ्गठन बुझ्ने, कार्यकर्ताको भावना सुन्ने र काम गरेर परिणाम देखाउने नेता का रूपमा चित्रण गर्दै आएका छन् । महाधिवेशन नजिकिँदै गर्दा सचिव पदमा पौडेलको दाबीले एमालेभित्रको बहस र चासोमा नयाँ ऊर्जा थपेको टिप्पणी पार्टीभित्रै सुनिन थालेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?