बारा,सरकारले बारा र पर्सामा यही असोज २६ गतेबाट हैजा विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा हैजा प्रभावित बारा र पर्सा जिल्लामा खोप अभियान सञ्चालन गर्न लागेको हो। परिवारकल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले आज काठमाण्डौंमा भएको‘हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान’ अन्तक्रिया कार्यक्रममा हैजा महामारी भएका र अन्य स्थानमा रोग फैलनबाट रोक्न खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो।उहाँका अनुसार खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि सुरु गर्ने कार्यक्रम तय भएको छ । पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा र बारा जिल्लाका छ स्थानीय तहका एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिइने छ। डा. विवेकका अनुसार यो खोप बजारमा किनेर सहज रूपमा नपाइने र महँगो भएकाले पनि अहिलेको अभियानले समेटेका क्षेत्रका लागि सुनौलो अवसर भएकाले निर्धक्क भएर प्रयोग गर्न भनिएको छ । हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइन्छ । प्रतिकार्य स्वरुप् संचालन गर्न खोप अभियानमा एक पटक दिए पुग्छ । यो खोप एक वर्षभन्दा माथिका सबै उमेर समुहका व्यक्तिलाई दिइने छ । गर्भवती र स्तनपान गराइरहेकालाई पनि यो खोप दिन मिल्ने उहाँको भनाइ छ । यो खोप खाइसकेपछि पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने बान्ता हुने, ज्वरो आउने, टाउको, मांसपेशी दुख्ने, खाना मन नलाग्ने, थकाई लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने, जिउ चिलाउने जस्ता सामान्य लक्षण देखिने हुँदा नआतिन उहाँको अनुरोध छ । गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली टोलबाट फैलिएको हैजा रोग हालसम्म पर्सा र बारा जिल्लाका एक हजार ६८५ बिरामीमा हैजा पृष्टि भइसकेको छ ।

















