निजगढ :- पूर्वपश्चिम राजमार्गको कमला–पथलैया खडकखण्ड विस्तार आयोजना अन्तर्गत सडक विभागले निजगढको बकैया खोलामा नयाँ पुल निर्माण गर्ने तयारी अघि बढाएको छ।
आयोजनाको अन्य खण्ड, सर्लाहीको बागमतीदेखि पथलैयासम्मको सडक विस्तारको काम शुरु नहुँदै बकैया खोलामा पुल निर्माणको प्रक्रिया सुरु गरिएको हो।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर मुकुन्द अधिकारीका अनुसार, बकैया पुल निर्माणका लागि १२ वटा कम्पनीले ठेक्का हालेका छन्। “कार्यालयले ठेकेदार कम्पनीहरूको प्रस्तावको प्राविधिक मूल्याङ्कन गरिरहेको छ। अध्ययनको काम सकिएपछि लगभग १ महिनाभित्र निर्माण कम्पनीको छनौट टुङ्गो लाग्नेछ,” अधिकारीले जानकारी दिनुभयो।
विश्व बैंकको ऋण सहयोगमा धनुषाको कमला नदीदेखि बाराको पथलैयासम्म करिब १३० किलोमिटर सडक चार र छ लेनमा विस्तार गर्न लागिएको छ। योजना अनुसार, सहरी र बजार क्षेत्रमा पूर्वपश्चिम राजमार्गलाई छ लेनसहित ३१ मिटर चौडाइमा फराकिलो बनाइने छ भने अन्य ठाउँमा मेडियन सहित चार लेन १८ मिटर चौडाइमा स्तरोन्नति गरिनेछ।
सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गत वर्ष पुस १७ गतेदेखि सडक विस्तारको काम भइरहेको छ। रौतहट र बारा जिल्लाको सडक विस्तारका लागि भने ठेक्का आह्वान हुन बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।

















