रुबीकुमारी साह हत्या प्रकरणका आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु

                     
  नेपाल लेख   २०८२ भाद्र ११, बुधबार २१:३१

रौतहट :-रौतहटको माधवनारायण नगरपालिका–२ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा पक्राउ परेका स्थानीय लक्ष्मण पासवानको मृत्यु भएको छ ।

आज बिहान आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ । प्रहरीका अनुसार, अनुहारसहित शरीरको ठूलो भाग जलेका पासवानलाई प्रारम्भिक उपचारपछि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई कीर्तिपुर लगिएको थियो ।

आत्महत्यापूर्व रेकर्ड गरिएको भिडियो :-

पासवानले आत्मदाह प्रयास गर्नु अघि नौ मिनेट ३६ सेकेन्ड लामो भिडियो रेकर्ड गरेका थिए, जसमा उनले रुबीको हत्या गरेको स्वीकार गरेका छन्। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।

भिडियोको सुरु र अन्त्य नेपालीमा भए पनि अधिकांश अंश हिन्दी भाषामा बोलिएको छ। भिडियोमा पासवानले रुबीसँग ६ कक्षादेखि प्रेम सम्बन्ध रहेको र पछि भागी विवाह गरेको दाबी गरेका छन्। तर रुबीकी आमाले सम्बन्ध स्वीकार नगरी बारम्बार बाधा पु¥याएको उल्लेख उनले भिडियोमा गरेका छन् ।

पासवानले भिडियोमा भनेका छन्, “कोही कसैको ज्यान त्यतिकै लिँदैन। बाध्यता भएपछि मान्छेले कसैको ज्यान लिन्छ। समस्या के थियो भने, उनकी (रुबीकी) आमा बहुत खराब थिइन्। अरुको धनदौलत, सुनचाँदी देख्दा उनी छोरीलाई तनाब दिन्थिन्।”

उनले आफू गरिब भएको, तर रुबीसँग गहिरो प्रेम सम्बन्ध रहेको र आमाको कारणले सम्बन्धमा तनाब आइरहेको बताएका छन्। हत्या भएको दिन रुबी आफूलाई भेट्न आएको र त्यही बेला झगडा भएपछि हत्या भएको स्वीकार गरेका छन्।

घटना पृष्ठभूमि :-

गत केही दिनअघि रुबीकुमारी साहको शव सुटकेसभित्र भेटिएको थियो। सो घटनापछि प्रहरी अनुसन्धानको क्रममा लक्ष्मण पासवानलाई पक्राउ गरिएको थियो ।

प्रहरीले भिडियो प्रमाण र घटनाको विवरणका आधारमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?