निजगढ बकैया नागमणी सामुदायिक वनमा नयाँ कार्यसमिति गठन प्रक्रिया अघि बढ्दै

                     
  नेपाल लेख   २०८२ भाद्र ३, मंगलवार २१:४४

बारा,  डिभिजन वन कार्यालय बारा सिमराले निजगढ–८ स्थित श्री बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहमा विवादपछि रोकिएको नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाउने पत्र पठाएको छ।

वन कार्यालयले यही भाद्र महीनाको मसान्तसम्म नयाँ कार्यसमिति गठन गर्ने समयसीमा तोकेको छ। पत्रमा डिभिजन वन अधिकृत राजीवकुमार झाले हस्ताक्षर गर्दै, “बकैया नागमणी वन समूहको कार्यसमितिको अवधि समाप्त भई समूहका कार्यहरु हाल तदर्थ समिति मार्फत सञ्चालन भइरहेकोले तत्काल नयाँ कार्यसमिति गठन गर्नु आवश्यक छ” उल्लेख गरेका छन्।

पत्रमा भनिएको छ कि वन संरक्षणका कार्यबाहेक अन्य सबै गतिविधि रोक्का राख्दै २०८२ भदौ मसान्तसम्ममा नयाँ कार्यसमिति गठन गरी सो जानकारी कार्यालयमा पठाउन अनुरोध गरिएको छ। आवश्यक सहयोग र सहजीकरणका लागि पत्रको प्रतिलिपि निजगढ नगरपालिका र नगर कार्यपालिकामा पनि पठाइएको छ।

वन समूहमा नयाँ कार्यसमिति चयनको क्रममा विवाद भएपछि गत वैशाख २७ गते तोकिएको मतदान रोकिएको थियो। नेकपा एमाले, माओवादी केन्द्र र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयनपत्र दर्ता गरिए पनि नेपाली कांग्रेस समर्थक उपभोक्ताले विरोध जनाएपछि निर्वाचन समितिले नामावली सार्वजनिक गर्न सकेको थिएन।

उम्मेदवारी दर्ता गरिसकेर ढिला सम्पर्क आएको भन्दै कांग्रेस समर्थक उपभोक्ताले चौलागाई र श्रेष्ठको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेका थिए। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यक्ष पदका लागि अर्जुन अधिकारीको नेतृत्वमा २ जना सदस्यलाई उम्मेदवार बनाएको थियो।

यस विवादबीच तामागढी सबडिभिजन वन कार्यालयका प्रमुख सुरेश भगतले निर्वाचन समितिको प्रमुख पदबाट राजिनामा दिएपछि वन समूहको नयाँ पदाधिकारी निर्वाचनमा अन्यौल सिर्जना भएको थियो।

वन कार्यालयले समयसीमा तोक्दै नयाँ कार्यसमिति गठनको प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?