निजगढ,बाराको निजगढ नगरपालिका वडा नं. ५ मा रहेको श्री जनजागृति सुन्दर सामुदायिक बन उपभोक्ता समूहले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत वृक्षारोपण तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू सम्पन्न गरेको छ।
समूहका अध्यक्ष जय प्रसाद ढुङ्गाना (राजन) का अनुसार समूहको बन जंगल क्षेत्रको खाली भूभागमा उन्नत जातका २५० थान बाँस र २०० बोट चिउरीको बिरुवा रोपिएको छ। वातावरण संरक्षण र स्थानीय स्रोतको दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै उक्त वृक्षारोपण कार्यक्रम गरिएको जानकारी दिइएको छ।
यसै क्रममा समूहको आन्तरिक कोषबाट अति विपन्न परिवारहरूलाई स्वास्थ्य बीमा अनुदान, गोबरग्यास जडानमा सहयोग, उत्कृष्ट विद्यार्थी सम्मान, साथै आगलागी पीडितलाई निःशुल्क काठ वितरण लगायत दर्जनौं सामाजिक तथा सामुदायिक विकासका कार्यहरू पनि संचालित गरिएको अध्यक्ष ढुङ्गानाले बताए।
समूहले वार्षिक रुपमा छपाई कटान आदेश लिँदै कोष वृद्धि गर्ने र त्यसबाट प्रत्येक उपभोक्तालाई सहज रूपमा काठ र दाउरा उपलब्ध गराउने, साथै अन्य वन विकासका गतिविधि पनि निरन्तरता दिने लक्ष्य राखेको जनाएको छ।
स्थानीय स्तरमा वन संरक्षणसहित सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको जनजागृति सुन्दर सामुदायिक बन उपभोक्ता समूहको यो पहल प्रशंसनीय देखिएको छ।

















