कुटपिट हत्या प्रकरणमा दोषीमाथि कडा कारबाहीको माग

                     
  नेपाल लेख   २०८२ असार १२, बिहीबार २१:३६

निजगढ, काठमाडौंको बुढानिलकण्ठमा कुटपिट गरी हत्या गरिएका बारा निजगढ नगरपालिका–७ का कृष्ण लामाका परिवारले हत्यामा संलग्न सबै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

पीडित परिवारलाई भेट्न बुधबार निजगढ पुगेका प्रतिनिधिसभा सदस्य अच्युत मैनालीसँग कुराकानी गर्दै मृतककी आमा पूर्णमाया थिङ्गले, “साथीको बहिनीको जन्मदिन मनाउने निहुँमा बोलाएर छोराको योजनाबद्ध र संगठित ढंगले हत्या गरिएको हो,” भन्दै दोषीलाई उम्काउने प्रयासको पनि आरोप लगाइन्।

उनको भनाइमा, “विकास लामा लोलाई मात्र दोषी देखाएर अन्य अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको छ।”

सांसद मैनालीले पीडित परिवारको घरमै पुगेर सान्त्वना दिएका थिए। त्यही क्रममा उनले प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंका डीएसपी निरञ्जन थापासँग टेलिफोन सम्पर्क गरी घटनाको निष्पक्ष र विस्तृत अनुसन्धान गर्न आग्रह गरे।

मैनालीले इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेसँग पनि छलफल गर्दै काठमाडौं प्रहरीले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग उपलब्ध गराइदिन अनुरोध गरेका छन्।

पीडित परिवारसँगको भेटमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा नं. ७ का अध्यक्ष टेकबहादुर लामा, एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शन कोइराला, लिलादेवी लामिछानेलगायत स्थानीय एमाले नेता–कार्यकर्ता सहभागी थिए।

गत असार ६ गते बुढानिलकण्ठ नगरपालिका–५, टुसालस्थित एक घरमा कुटपिटबाट कृष्ण लामाको हत्या भएको थियो। काठमाडौं प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा बारा, मकवानपुर र काठमाडौंका गरी ४ जना युवालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका–७ का २९ वर्षीय सुगन्ध लामा, निजगढ–५ का १८ वर्षीय सौगात क्षेत्री, मकवानपुर बकैया–२ का २३ वर्षीय निसान जिम्बा र हाल बुढानिलकण्ठ नगरपालिका–५, टुसाल बस्ने ३२ वर्षीय विकास लामा लो रहेका छन्।

प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?