
निजगढ,निजगढ ११ वडा कार्यालयको आयोजना तथा साहसी महिला समूह, निजगढ–७ को सहकार्यमा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम कार्यक्रम आजदेखि निजगढ नगरपालिका–११ स्थित रतनपुरीमा सुरु गरिएको छ ।
सात दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय महिलाहरूलाई आर्थिक कारोबारको समझदारी, आत्मनिर्भर व्यवसाय सञ्चालनको सीप तथा वित्तीय योजना निर्माण सम्बन्धी विषयमा ज्ञान दिइने आयोजक समूहले नेपाललेख डटकमलाई जानकारी दिएको छ ।
तालिम कार्यक्रमको उद्घाटन निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं ११ का अध्यक्ष सहइया गुरो, स्थानीय प्रतिनिधिहरू तथा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साहसी महिला समूहकी अध्यक्ष रत्न बर्तौलाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थाकी सदस्य शान्तिदेवी नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन सचिव भवानी नेपाल र कोषाध्यक्ष शोभा बर्देवाले संयुक्त रूपमा गरेका थिए ।
उद्यमशीलता र आर्थिक सशक्तिकरणतर्फ महिलाहरूलाई अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको उक्त तालिममा रतनपुरी क्षेत्रका स्थानीय महिला सहभागी बनेका थिए भने प्रशिक्षक मुना खरेलले दिनुभएको थियो ।
आयोजक संस्थाले तालिम पश्चात महिलाहरूले आफ्नै स्थानीय स्रोत–साधन प्रयोग गरी आत्मनिर्भर व्यवसाय थालनी गर्ने विश्वास व्यक्त गरेको छ ।