
निजगढ,निजगढ नगरपालिका वडा नं.१२ को आयोजनामा च्याप्टर नेपाल संस्थाको सहकार्यमा एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । कार्यक्रम हिजो श्री सरस्वती आधारभूत विद्यालय कोलगाउँ र श्री नेपाल आधारभूत विद्यालय बुङ्जोरमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नं.१२ का अध्यक्ष श्री ग्यानबहादुर गोलेको प्रमुख आतिथ्यता रहेको थियो भने वडा सदस्यहरू चन्द्रमान तामाङ, शम्भु थोकर, महिला वडा सदस्य शुकुमाया जिम्बा, वडा सचिव अरुणकुमार बस्नेत, च्याप्टर नेपालका महासचिव सुदीप तिमल्सिना तथा दुबै विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख दीपक केसीले दिनुभएको थियो । उहाँले बालबालिकामा सवारी सुरक्षासम्बन्धी सचेतना फैलाउने उद्देश्यले महत्वपूर्ण जानकारी तथा व्यवहारिक अभ्यास समेत गराएका थिए भने, कार्यक्रमको संचालन च्याप्टर नेपालका सदस्य योगेश न्यौपानेले गर्नुभएको थियो ।
यस सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा विद्यालय समुदायमा ट्राफिक नियमप्रति सजगता बढाउने अपेक्षा गरिएको छ ।