
निजगढ,उम्मेदवारी दर्ता क्रममा उत्पन्न विवादका कारण रोकिएको निजगढ ७ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनको लागि तोकिएको निर्वाचन थप अन्यौलमा परेको छ । निर्वाचन समितिका प्रमुख एंव तामागढी सबडिभिजन वन कार्यालयकाका प्रमुख सुरेश भगतले निर्वाचन समितिको संयोजक पदबाट राजिनामा दिएपछि वन समूहको नयाँ पदाधिकारी निर्वाचनमा अन्यौलता बढेको हो । डिभिजन वन कार्यालय सिमरामा सरुवा भएपछि संयोजक भगतले निर्वाचन समिति संयोजकको जिम्मेवारीबाट पनि राजिनामा दिनुभएको हो । संयोजकको राजिनामा पछि निर्वाचन समितिका अन्य सदस्यहरुको जिम्मेवारी पनि स्वत समाप्त भएको र अब पुरानो समितिले निर्वाचन गराउन नसक्ने निर्वाचन समितिका सदस्य एंव निजगढ सबडिभिजन वन कार्यालयका प्रमुख निरोज पोखरेलले बताउनुभयो । निर्वाचनको लागि अब फेरि नयाँ प्रक्रियाबाट काम शुरु गर्नुपर्ने उहाँको भनाई छ । समितिमा नेकपा एमालेका तत्कालिन उपाध्यक्ष भोला प्रसाद गौतम, नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दङ्गाल, रास्वपाकी सजना उप्रेती, बकैया ठाकुर माविका प्रधानाध्यापक हिमेश घिमिरे सदस्य रहेका थिए । कार्यसमितिको गत बैशाख २७ गते हुने भनिएको मतदानको लागि उम्मेदवारहरुले गरेको मनोनयन दर्ता विवादमा परेपछि निर्वाचन समितिले सोही समयमा कार्यतालिका स्थगित गरेको थियो । वन समूहको नयाँ कार्यसमितिमा नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्र दर्ताको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न नसकेको हो । निर्वाचन समितिमा ढिला गरेर सम्पर्क गर्न आएको भन्दै चौलागाई र श्रेष्ठको उम्मेदवारी रद्द गर्न माग गर्दै कांग्रेस समर्थक उपभोक्ताहरुले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न अवरोध गरेका थिए । वन समूहको नयाँ कार्यसमिति चयनको लागि नेकपा एमाले, माओवादी र जनमत पार्टीले एमालेका रामप्रसाद ओझाको नेतृत्वमा संयुक्त प्यानल बनाएर मनोनय पत्र दर्ता गरेका छन भने नेपाली कांग्रेशले कमल बजगाई नेतृत्वको प्यानल अघि सारेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वन समूहको अध्यक्षमा अर्जुन अधिकारीको नेतृत्वमा २ जना सदस्यहरुलाई उम्मेदवार बनाएको छ ।