
निजगढ, प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा वडा नम्बर ४ र वडा नम्बर ८ को टोली विजयी भएको छ । पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १० लाई सडन डेथमा पराजित गरेको थियो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि भएको टाईब्रक्ररमा पनि दुबै टोलीको तर्फबाट ४/४ गोल भएको थियो । पहिलो खेलमा म्यान अफ दि म्याचको उपाधि वडा नम्बर ४ का गोल रक्षक साहिल धामीले हात पारेका छन् । उनलाई वडाअध्यक्ष विशेष सापकोटा,पत्रकार एंव रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइने, स्व.विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।
त्यसैगरी आज नै भएको दोस्रो खेलमा वडा नम्बर ८ विजयी भएको छ । वडा नम्बर ८ ले वडा नम्बर ६ लाई १/० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरपछिको १५ औं मिनेटमा वडा नम्बर ८ का पूजन माझीले टोलीको लागि निर्णायक गोल गरेका हुन । सो खेलाको म्यान अफ दि म्याच भने वडा नम्बर ६ का प्रशिस तिमल्सिनाले पाएका छन् । वडा अध्यक्ष स्वर्ण लामा र स्वर्गीय विकल रेग्मीकी आमा कमलाले प्रशिसकलाई ट्रफी र पुरस्कार प्रदान गरेका थिए । भोलिको पहिलो खेलमा वडा नम्बर १ र १३ र दोस्रो खेलमा वडा नम्बर २ र वडा नम्बर ७ ले प्रतिपस्र्धा गर्नेे आयोजक निजगढ फुटबल क्लबका शम्भु थापाले बताउनुभयो । निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा शुरु भएको प्रतियोगिताको विजयी टोली ५० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ । निजगढ नगरपालिकाका १३ वटै वडाका टोलीका खेलाडीहरुको सहभागिता रहेको सो प्रतियोगिताको युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्धाटन गर्नुभएको थियो ।