
निजगढ,नेकपा एमालेले निजगढ नगर कमिटीको तेस्रो नगर अधिबेशन बिहीवारबाट शुरु भएको छ । निजगढ ८ स्थित शुभकार्य बैङ्गकुटमा शुरु भएको अधिबेशनको एमाले पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्धाटन गर्नुभएको हो । अधिबेशन उद्धाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले एमालेले फेरि एकपटक बहुमतको सरकार चलाउने मौका पाए नेकपा एमालेले देशको मुहार फेरेर देखाइदिने बताउनुभयो । उहाँले बहुमतको सरकार निर्माण गर्न कार्यकर्ताहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।‘पटक पटक सरकारको नेतृत्व गर्ने मौका पाएपनि एकमना बहुमतको सरकार भने चलाउन पाएका छैनौं, उहाँले भन्नुभयो, यदि एमालेको एकल बहुमतको सरकार बन्यो भने देशलाई बदल्न सक्छौं ।’ उहाँले सरकारले जनताको पक्षमा कसरी काम गर्नुपर्छ भन्ने उदाहरण एमालेले मनमोहन अधिकारी नेतृत्वमा अल्पमत र केपी ओली नेतृत्वको नेकपाको सरकारले दिइसकेको बताउनुभयो । ‘मनमोहन र केपी ओली नेतृत्वको सरकारमा पनि एमालेको बहुमत थिएन, उहँले भन्नुभयो, देश र जनताको पक्षमा राम्रो काम गरेकै कारण सरकार ढालियो ।’ नेता पौडेलले देशका श्रमजिवी मजदुर र गरिब जनताको पक्षमा काम गर्ने भिजन भएको पार्टी एमाले मात्रै भएको पनि दाबी गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एंब बारा जिल्ला इन्चार्ज पूर्वमन्त्री ज्वाला साह, अर्का पोलिटब्युरो सदस्य अच्युत मैनाली, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाड्येलगायतले अधिबेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । अधिबेशनको उद्धाटन कार्यक्रमको अवसरमा जनआन्दोलनका शहीद तथा घाइते परिवारका सदस्य र पार्टीको संगठन विकास तथा विस्तारमा पंचायती शासनकालदेखि भूमिगत रुपमा काम गरेर सहयोग पु¥याउने निजगढका विभिन्न क्षेत्रका १ सय जनाभन्दा बढी पुराना नेता कार्यकर्ताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । नगर कमिटी अध्यक्ष एंव निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो अधिबेशनको उद्धाटन कार्यक्रममा पार्टी नगर कमिटी उपाध्यक्ष भोलाप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव तिलक घलानले गर्नुभएको थियो । २ दिनसम्म चल्ने सो अधिबेशनको बन्द सत्र भोलि शुक्रवारबाट शुरु हुने छ । अधिबेशनमा निजगढ नगरपालिकका १३ वटै वडा कमिटी (भूगोल) बाट १९३, जनसंगठनहरुबाट २७ र आयोजनक नगर कमिटीका सदस्य ६९ जना गरी २ सय ९६ जना प्रतिनिधि सहभागी छन । अधिबेशनले आगामी ३ वर्षे कार्यकालको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।