निजगढ खानेपानी बृहत् आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयद्धारा ३० करोड बजेट सुनिश्चित

                     
  नेपाल लेख   २०८१ माघ ८, मंगलवार २१:५८

निजगढ,निजगढमा बृहत् निजगढ खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले ३० करोड बजेट सुनिश्चित गरेको छ । निजगढ नगरपालिकाका १३ मध्ये ९ वटा वडाहरूमा खानेपानी आयोजना संचालन गर्न मन्त्रालयले सो बजेट सुनिश्चित गरेको हो । सङ्घीय खानेपानी मन्त्रालयबाट बहुवर्षीय ठेक्का अन्तर्गत स्रोत सहमतिका लागि माग गरिए अनुसार अर्थ मन्त्रालयले ३० करोड बजेट सुनिश्चित गरेको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले बताउनुभयो ।

मन्त्रालयबाट बजेट सुनिश्चित गरेपछि चालू आर्थिक वर्षबाट नै आयोजनाको काम पनि अघि बढ्ने निश्चित भएको उहाँले बताउनुभयो । विगत ३ वर्षदेखि चर्चामा रहेको यो आयोजनाको काम यसअघि अर्थ मन्त्रालयबाट बजेट सनिश्चितता नहुँदा शुरु हुनसकेको थिएन् । समितिको तर्फबाट मन्त्रालयमा गरिएको पटकपटकको प्रयास, सांसद मैनाली र निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको पहलमा बृहत् खानेपानी आयोजनाका लागि मन्त्रालयले बजेटको सुनिश्चित गरेको निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले बताउनुभयो ।

आयोजना अन्तर्गत पहिलो चरणमा ४ लाख ५० हजार लिटर क्षमताको २ वटा ओभर हेड ट्याङ्गी, ३ वटा डिप बोरिङ्ग, पाइप लाईन विस्तार र सुविधा सम्पन्न कार्यालय भवन निर्माणको काम गरिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?