निजगढ, निजगढ नगरपालिकाले सहिद चोक र बजार क्षेत्रको ट्राफिक व्यवस्थापन तथा नगरको स्वच्छतामा सुधार ल्याउने कार्यलाई प्राथमिकता दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गरेर अबदेखि बजार क्षेत्रमा पूर्वपश्चिम राजमार्गको सडक किनारामा ठेलागाडा राखेर सामान बिक्री वितरण गर्ने र फोहोरजन्य पदार्थ जथाभावी फाल्ने कार्यलाई पूर्ण रूपमा रोक लगाएको छ । नगरपालिकाको सूचनामा लेखिएको छ, ‘सार्वजनिक क्षेत्रलाई व्यवस्थित र सौन्दर्यपूर्ण बनाउनु सबैको जिम्मेवारी हो । यसका लागि, स्थानीय व्यवसायी र सर्वसाधारणलाई नियम पालन गर्न विशेष आग्रह छ ।’ नगरपालिकाले ठेलागाडा सञ्चालन गर्नका लागि निश्चित स्थान तोक्ने योजना बनाएको छ । जसले बजार क्षेत्रलाई व्यवस्थित मात्र बनाउने नभई दैनिक यात्रुहरूको आवतजावतलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ । यसमा नगरबासीबाट सहयोग प्राप्त हुने नगरपालिकाले आशा गरेको छ । यस योजनाको पालना सुनिश्चित गर्न, आगामी १५ दिनभित्र सबै ठेलागाडा व्यवसायीहरूले नगरपालिकाद्वारा निर्दिष्ट स्थानमा आफ्नो व्यापार सञ्चालन गर्नुपर्नेछ । यस अवधि पछि पनि नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने योजनामा नगरपालिका छ । नगरपालिकाको यस कदमलाई स्थानीय समुदायले स्वागत गरेकाछन । बजार क्षेत्रलाई व्यवस्थित बनाउन यो निर्णय समयसापेक्ष र प्रभावकारी रहेको स्थानीयले बताएका छन् । विशेष गरी बजार क्षेत्रको फोहोर व्यवस्थापनले वातावरणीय स्वच्छतामा पनि सकारात्मक प्रभाव पार्नेछ । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको हस्ताक्षरमा जारी सूचना नगरको स्मार्ट सिटी निर्माण अभियानसँग पनि जोडिएको छ । नगरपालिकाले सहिद चोक र बजार क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दृष्यले सबैको सहयोग अपेक्षा गरेको छ ।