बारा,७८ हजार घुससहित पक्राउ परेका बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत वीरेन्द्र साह कानु विरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम दाबीसहित विशेष अदालत, काठमाडौंमा साह विरुद्ध हिजो आरोप पत्र दायर गरेको हो । आयोगले हिजो जारी गरेको विज्ञप्तिमा साह माथि सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० अनुसार बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालत काठमाडौँमा दायर गरिएको आरोपपत्रमा साहलाई कैद सजायका साथै बिगो रकम बमोजिम जरिवाना गराउन माग गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले ८ कार्तिक महिनामा बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा कलैयाबाट पक्राउ गरेको थियो । उनीले गत असार महिनाको तेस्रो साताबाट सिम्रौनगढको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा नगरपालिकाका पूर्वमेयर गङ्गा पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव रहेका विशेष अदालतले जनाएको छ । उनीहरूलाई सजाय निर्धारणका लागि आउँदो मङ्सिर १० गतेका लागि तोकिएको छ । आयोगले गएको चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको थियो । आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै एक करोड ८ लाख रुपैयाँ बिगो बमोजिम जरीमाना र कैद सजायको माग गरेको थियो ।