निजगढ,निजगढ नगरपालिकामा निर्माण भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले बुधवार उद्धाटन गर्नुभएको छ । निजगढ नगरपालिकाले उपलब्ध गराएको साडे ११ कठ्ठा जमिनमा अस्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेशनको करिब १९ करोड लगानीमा अस्पताल भवन निर्माण भएको हो । उद्धाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अस्पताल संचालनबाट मधेस प्रदेसका जनताको गुणस्तरी स्वास्थ्य सेवाको पहुँच विस्तार भएको बताउनुभयो । उहाँले अस्पतालको भवन र पूर्वाधारमा भन्दा पनि सेवाको गुणस्तर र बिरामीको सुविधानमा ध्यान दिएर काम गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले निजगढमा सुविधा सम्पन्न आँखा अस्पताल निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले अस्पताल स्थापना गर्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद पनि व्यक्त गर्नुभएको थियो ।
नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलले अस्पतालले प्रदान गर्ने सेवाको बारेमा बताउनुभयो ।
कार्यक्रममा नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक एवंम विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा. सन्दुक रुइटले अस्पतालले दैनिक तिनदेखि ६ सय आँखाका बिरामीले लाभ लिने अपेक्षा गरिएको बताउदै अबको केही वर्षपछि निजगढमा बार्षिक आठदेखि दश हजार मानिसको आँखाको शल्यक्रिया गर्ने योजना रहेको पनि सुनाउनुभयो । नेपाल आँखा कार्यक्रमका कार्यकारिणी समितिका अध्यक्ष सुहद घिमिरे सभापतित्वमा भएको सो, अस्ट्रेलियन दातृ संस्था द फ्रेड होलोज फाउन्डेसनका निवतर्मान अध्यक्ष माइकल जन्सन, द फ्रेड होलोज फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत विशआर्ट, बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभासदस्य अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य मिना लामा, तिलगंगा आँखा अस्पताल संचालक समितिका सदस्य एवंम लोकप्रिय हास्यकलाकार हरिवंश आचार्य लगायतको उपस्थिति रहेको थियो । मोफसलकै ठुलो आँखा अस्पतालका रूपमा रहेको निजगढ तिलगंगा अस्पतालमा बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा र नियमित शल्यक्रिया सेवा संचालन हुने जनाइएको छ । शुरुमा अस्पताल निर्माणको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको थियो । यसअघि निजगढ तिलगंगा आँखा अस्पतालले निजगढ नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको थियो ।