बारा,बाराको बरियापुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ । महागढीमाई नगरपालिका र गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा दर्शनार्थीहरुको सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिले बिहीवारबाट निःशुल्क बस सेवा सुरु गरेको हो । ओम विनायकका अध्यक्ष अच्युत पौडेलले मेला व्यवस्थापन समितिको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताउनुभयो । बारा बस व्यवसायी संघको समन्वयमा थप चार वटा बस निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको पौडेलले बताउनुभयो । घटस्थापनादेखि नवमीका दिनसम्म कलैयाबाट गढीमाई मन्दिरसम्मकालागि ओमविनायक ट्राभल्सले निःशुल्क बस सेवा सञ्चालन गरेको होे । कलैयाको भरत चोकबाट बिहान ६ः३० बजे दर्शनार्थीहरुलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र बिहान ८ः३० बजे पुनः बस कलैया फर्किने ओम विनायक ट्राभल्सका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।