पहिरोमा परि निजगढका बिकल रेग्मीसहित एन्फा एकेडेमीका ६ जना प्रशिक्षार्थी विद्यार्थीको मृत्यु,

                     
  नेपाल लेख   २०८१ आश्विन १३, आईतवार २०:२९

मकवानपुर,मकवानपुरको सिस्नेरीमा खसेको पहिरोमा परी निजगढ– ८ का बिकल रेग्मीसहित एन्फा एकेडेमीका ६ जना प्रशिक्षार्थी विद्यार्थीको ज्यान गएको छ । एकेडेमीबाट शनिवार बिहान सुरक्षित स्थानतर्फ लैजाने क्रममा बिकलसहित ६ जनालाई पहिरोले बगाएको थियो । पहिरोले बगाएका ६ जनाको शव फेला परेको छ । उनीहरुको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा निजगढका बिकलसहित सर्लाहीका आदित्य बलपाकी, मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्य रहेका छन् । एन्फा प्रवक्ता सुरेश शाहले सिस्नेरी एकेडेमीमा रहेका ६ खेलाडी पहिरोमा परेको पुष्टि गर्नुभएको छ । इन्द्रसरोबर गाउँपालिका ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले संचालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा उनीहरुलाई पहिरोले बगाएको थियो । सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई भने काठमाडौं लगिएको छ । उद्धार गरिएका ३४ मध्ये ३० जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । यु– १३ उमेर समूहमा बिकलसहित निजगढका पाँच प्रशिक्षार्थीले सिस्नेरीस्थित एन्फा एकेडेमीमा फूटबल प्रशिक्षण गरिरहेका थिए । अन्य चार जना भने सुरक्षित छन् । उनीहरु गत जेठदेखि सिस्नेरीमा थिए । निजगढ नगरपालिका ८ बकैया टोलका जयन्त रेग्मीका छोरा बिकल स्थानीय बकैया ठाकुर माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममा एन्फा एकेडेमीमा छनौट भएका थिए । जिल्ला र प्रदेशस्तरको छनौट पार गर्दै एकेडेमीमा पुग्न सफल बिकल फूटबलमा आफ्नो भविष्य बनाउन चाहन्थे । बिकलको मृत्युको खबरले आफन्त र निजगढका खेलप्रेमी दुःखी बनेका छन ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?