निजगढका समाजसेवी घनश्याम लम्सालले गरे वृद्धभत्ताको रकम बालिकाको उपचारमा सहयोग

                     
  नेपाल लेख   २०८१ श्रावण १२, शनिबार २१:०६

निजगढ, निजगढ नगरपालिका वडा नम्बर ७ का समाजसेवी घनश्याम लम्सालले आफूले पाउने जेष्ठ नागरिक भत्ताको रकम बोनम्यारो क्यान्सरबाट पीडित एक बालिकाको उपचारमा सहयोग गर्नुभएको छ ।

निजगढस्थित रेडियो निजगढको कार्यालयमा समाजेवी लम्सालले निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालकी १२ वर्षिय बालिका रुथ रुम्बाको बुबा जयराम रुम्बालाई भत्ताबापत एक महिनाको ४ हजार नगद हस्तान्तरण गर्नुभएको हो ।। ७५ वर्षिय लम्सालले वृद्धभत्ता बापत सरकारबाट मासिक ४ हजार रुपैया पाउदै आउनुभएको छ ।

आर्थिक अभावले बालिकाको उपचारमा समस्या भएको सुनेपछि आफूले भत्ताको एक महिना बराबरको रकम सहयोग गरेको बताउनुभयो । ‘एकजनाले मात्रै सहयोग गरेर त शंभव छैन, उहाँले भन्नुभयो, तर अरुले पनि यसरी नै सहयोग गरे बालिकाको ज्यान जोगाउन मद्दत पुग्छ ।’ उहाँले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो ।

सहयोग रकम बुझ्दै रुथका पिता जयरामले सरकारले दिएको भत्ताको रकम उपचार खर्चको लागि उपलब्ध गराएर लम्सालले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

काठमाण्डौंको कान्ति अस्पतालमा उपचारको क्रममा २ महिनाअघि बोनम्यारो क्यान्सर भएको पत्ता लागेपछि रुथको हाल भारतको नयाँ दिल्लीस्थित एम्स हस्पिटलमा उपचार भइरहेको छ । कान्ति अस्पतालका चिकित्सकले नेपालमा शंभव नभएको बताएपछि रुथलाई उपचारको लागि नयाँ दिल्ली लगिएको थियो । उनको उपचारको लागि विभिन्न दाताहरुबाट हालसम्म ७ लाख ५० हजार सहयोग रकम संकलन भएको र थप ठूलो रकम आवश्यक पर्ने बुबा जयरामले बताउनुभयो ।

सम्पतीको नाममा ३ कठ्ठा १० धुर मात्रै ऐलानी जग्गा रहेको र आम्दानीको अर्को कुनै स्रोत नभएकोले रुथको जीवन रक्षाको लागि सहयोग गर्न जयरामले सबैसंग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?