निजगढमा डेंगुको प्रकोप नियन्त्रण गर्न स्प्रे शुरु

                     
  नेपाल लेख   २०८१ असार २६, मंगलवार २०:२७

निजगढ,निजगढ नगरपालिकामा डेंगुको प्रकोप नियन्त्रण गर्न सोमबारबाट स्प्रे अभियान शुरु गरिएको छ । निजगढ नगरपालिका स्वास्थ्य शाखाको अनुरोधमा डेंगु नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बारा कलैयाबाट १२ जनाको टोली आवश्यक औषधि र उपकरण सहित निजगढ आएको हो । टोलीले नगरका १३ वटै वडामा पुगेर वडा अध्यक्षहरुको समन्वयमा औषधि छर्किने कार्य गर्ने टोलीका सदस्य विनोद चौरसियाले बताउनुभएको छ । सोमवार भने वडा नम्बर ९ को विभिन्न स्थानमा औषधि छर्किएको उहाँले बताउनुभयो । नेपालमा केही वर्ष यता डेंगु प्रकोपका रुपमा देखिँदै आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका डा.गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि अहिलेसम्म बारा लगायत २२ जिल्लाबाट ६९ जनामा डेंगुका बिरामी भेटिएका छन् । नेपालमा पहिलो पटक सन् २०१९ मा फैलिएको डेंगु प्रकोपबाट लगभग सबै जिल्लाका हजारौं मानिस प्रभावित हुनुका साथै डेंगुका कारण केहीको मृत्युसमेत भएको थियो । सन् २०२१ मा ५२ र सन् २०२० मा ७५ जनामा डेंगुका बिरामी भेटिएका थिए । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी यस्तो समस्या देखिएको डा. दाहाल बताउनुहुन्छ । काठमाडौंका विभिन्न पानी जमेका ठाउँमा लामखुट्टेका लार्भाहरू प्रशस्तै देखिन सुरु भइसकेकाले अबको केही हप्तामा यी लार्भाहरू वयस्क भई मानिसलाई टोक्न सुरु गर्ने हुँदा डेंगु फैलिन सक्ने सरुवा रोग विशेषज्ञको चेतावनी छ । उहाँले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने पनि बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?