अत्यधिक गर्मीका कारण बारा निजगढ र करैयामाईका विद्यालयहरु ३ दिन विदा

                     
  नेपाल लेख   २०८१ जेष्ठ २९, मंगलवार २०:२८

बारा ,अत्यधिक गर्मीको कारण बारा जिल्लाको निजगढलगायत तराई मधेशका जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिने नगरपालिकाहरुले सुचना जारी गरेको हो । बाराका भित्री क्षेत्रमा तापमान ४२ डिग्री सेल्सियससम्म पुगेपछि निजगढ नगरपालिका र करैयामाई गाउपालिकाले आफ्नो मातहत भित्र रहेको सबै विद्यालयलाई गर्मी बिदाको सूचना निकालेको हो ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा “लू” लाग्ने समस्या आएपछि निजगढ नगरपालिका र करैयामाई गाउपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् । गत वर्षको तुलनामा यस वर्ष गर्मी अत्यधिक बढेपछि पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निजगढका सुचना अधिकुतले जनाएको छ । निजगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकुत अजय वर्तौलाद्वारा र करैयामाई नि. प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरीत सूचनामा उल्लेख छ ।

गर्मी तथा “लू” का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको जनाएको छ । त्यस्तैगरी मध्य तराई र पश्चिम तराईका जिल्लामा जेष्ठ २८ देखि तीन दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलवार विशेष बुलेटिन निकालेर आउँदो जेष्ठ ३१ गते बिहीवारसम्म मध्य तराई र पश्चिम तराईका जिल्लामा तातो हावा र तातो हलर चल्ने सक्ने चेतावनी दिएको हो । यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य र पश्चिम तराईका केही ठाउँको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि रहेको छ । पूर्वी क्षेत्रसहित बाग्मती, मधेश प्रदेशका केहि जिल्लाको तापक्रम भने कम छ । अत्यधिक गर्मीका कारण तराई, मधेशसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । तातो हावाको लहरबाट हुने सम्भावित असरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिने डाक्टरहरूले बताएका छन् । तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ । यसैबीच यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै सोमबार नेपाल भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको हो । पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ । विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?