अमेरिका निवासी तिमल्सिना दम्पतीद्वारा गौरीशंकर मा.वि.का दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान

                     
  नेपाल लेख   २०८१ जेष्ठ २५, शुक्रबार २०:२९

निजगढ नगरपालिका घर भइ हाल अमेरिका बस्दै आएको एक दम्पतीले निजगढको गौरीशंकर माविका दुई जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने गरि छात्रवृत्ति प्रदान गरेको छ । अमेरिका बस्दै आएका यमकुमार तिमल्सिना (कन्हैया) र पत्नी रुबी बस्ताकोटीले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलको कक्षा २ मा अध्ययनरत स्थानीय अरुण लामिछाने र रञ्जित तिमल्सिनाको छोरीलाई कक्षा १२ सम्म पढाउने गरि छात्रवृत्ति प्रदान गरेका हुन । कन्हैया सोही विद्यालयका पूर्वविद्यार्थी (२०६२ एलएलसी ब्याज) हुनुहुन्छ । यसअघि पनि तिमल्सिनाले सोही विद्यालयका २ छात्राहरुलाई कक्षा १२ सम्म पढाउने गरि सहयोग गर्नुभएको थियो । यसपालि थप २ जना विद्यार्थी थपिएसँगै तिमल्सिनाको सहयोगमा अध्ययन गर्न पाउने विद्यार्थी संख्या ४ पुगेको छ ।

छात्रवृत्ति प्रदान सम्बन्धि तीन पक्षीय सम्झौतामा विद्यालयको तर्फबाट प्रधानाध्यपक यादवकुमार तिमल्सिना तथा लेखापाल सन्तोष बञ्जरा, तिमल्सिना दम्पतीको प्रतिनिधिका रुपमा भाइ घनश्याम तिमल्सिना र छात्राहरुका अभिभावकहरुले हस्ताक्षर गरेका छन् । तिमल्सिना दम्पतीले सम्भव भएसम्म हरेक वर्ष विद्यार्थीलाई यस प्रकारको सहयोग गर्दैजाने बताएका छन् । विद्यालयमा १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेकोे कन्हैयाले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?