
निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यदि देशको अवस्था बिग्रदो अवस्था बदल्नु छ भने हालको व्यवस्था नै फेर्नुपर्ने बताउनुभएको छ ।
बाराको निजगढमा बुधवार पार्टीले आयोजना गरेको सभामा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताउनुभएको हो । संघीय व्यवस्था र गणतन्त्र आएपछि देशको अवस्था नाजुक बन्दै गएको भन्दै यसकोलागि राजतन्त्रसहितको नयाँ व्यवस्था लागू गरिनुपर्ने उहाँले बताउनुभयो । ‘यो शासन प्रणाली कायम रहेसम्म देश र जनताको अवस्थामा सुधार आउनेवाला छैन, लिङ्देनले भन्नुभयो, यसको लागि संवैधानिक राजतन्त्र र प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ व्यवस्था गरिनुपर्छ ।’ उहाँले कांग्रेस, एमाले र माओवादीका नेताहरु भ्रष्ट्राचार नातावादमा लिप्त भएकोले उनीहरुले जति पटक सरकारको नेतृत्व लिए पनि देश बनाउन भने नसक्ने दाबी गर्नुभयो । ‘वर्षौदेखि शासन सत्तामा छन, अहिलेसम्म कुनै राम्रो काम गर्न सकेनन, उहाँले भन्नुभयो, अब अझै पनि केही गर्छन कि भनेर जनताले आशा गर्ने अवस्था छैन ।’ अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएको खण्डमा देश र जनताको लागि जनताले चाहेअनुसारको काम गरेर देखाउने दाबी पनि गर्नुभयो । राप्रपाको नेतृत्वमा सरकार बन्यो भने सबैखालको भ्रष्ट्रारको अन्त्य हुने र देशभित्रै रोजगारीको अवसर सृजना गरेर युवाहरुलाई परिवार पाल्नको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिने उहाँको भनाई छ ।
यसको लागि सबैभन्दा पहिले संघीयता खारेज हुनुपर्ने लिङ्देनको भनाई छ । संघीयताको लागि संघर्ष गर्ने मधेसी जनताले पनि यो व्यवस्थाबाट केही नपाएको उहाँले सुनाउनुभयो । ‘मधेसको नाममा राजनिति गर्ने केही मधेसवादीदलका नेता बाहेक आम जनताले यो व्यवस्थाबाट केही पाएका छैनन, उहाँले भन्नुभयो, यो अवधिमा मधेसवादी दलका ४७ जना नेताहरुले मन्त्री हुने मौका पाए तर मधेसका जनताले भने केही पनि पाएका छैनन ।’ उहाँले संघीयता खर्चिलो र भड्किलो व्यवस्था भएको पनि बताउनुभयो ।
अर्को एक फरक प्रसंगमा निजगढ विमानस्थल देशको विकासको लागि अत्यावश्यक रहेको चर्चा पनि गर्नुभयो । सत्तारुढ दलका नेताहरुको अकर्मण्यता र नालायकीपनका कारण निजगढ विमानस्थल र काठमाण्डौं तराई द्रतमार्गको निर्माण कार्यले हालसम्म गति लिन नसकेको उहाँको आरोप छ । ‘निजगढ बिमानस्थल निर्माणको अझै पनि खाका तयार छैन, उहाँले भन्नुभयो, द्रतमार्ग निर्माणको गति पनि अत्यन्तै सुस्त छ ।’ सरकारका मन्त्रीहरुले ठेक्कापट्टा र कमिशनको लागि देशको लागि आवश्यक ठूला योजनाहरु अलपत्र पारेर राख्ने गरेको लिङ्देनको भनाई थियो ।
राप्रपा निजगढका अध्यक्ष खडकप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ्ग, केन्द्रीय सदस्य खुस्वु ओली, सावित्री भारती, षेशा सापकोटा, विनोद भारती लगायतले बोल्नुभएको थियो ।