फोक्सो वा मुटुसम्बन्धी रोगले सर्टनेस अफ ब्रेथ अर्थात् सास फेर्ने समस्या हुन्छ । सर्टनेस अफ ब्रेथको समस्या हुनुमा डर, चिन्ता र एन्जायटी जस्ता मनोवैज्ञानिक कारण पनि जिम्मेवार हुन्छन् ।
त्यस्तै रगतमा हुने एनेमियाको समस्याले पनि सास फेर्न गाह्रो बनाउँछ ।
फोक्सोमा समस्या
फोक्सोसम्बन्धी (पल्मोनरी) कुनै प्रकारको समस्याको कारणले सास फेर्ने समस्या भएको वा नभएको थाहा पाउन छातीको एक्सरे र पल्मोनरी फङसन् टेस्ट (स्पाईरोमेट्री) जाँच गर्न सकिन्छ । एक्सरेले मुख्य समस्या (ग्रोस इफेक्ट) मात्र पहिचान गर्न मद्दत गर्छ । त्यसैले फोक्सो रोग विशेषज्ञ (पल्मोनरी फिजिसियन) ले थोर्याक्स क्षेत्रको विस्तृत परीक्षण गर्नका लागि त्यससम्बन्धी कुनै शिशु अवस्थाको रोग रहे नरहेको कुरालाई समेत मध्यनजर गरेर छातीको सिटिस्क्यान पनि गर्न सक्छ । त्यस्तै नाकको भित्री भाग जाँच गर्न नेजल इन्डोस्कोपी गर्न सकिन्छ ।
सास फेर्ने समस्या हुनुमा ‘ब्रङकियल अस्थामा’ पनि एक हो, जुन वायु प्रदूषणका कारण हुन्छ । फाइब्रोसिस (फोक्सोको कोषिकामा दाग हुने), इफ्युसन, संक्रामक निमोनिया, ब्रङकाइटिस (श्वासनली सुन्निने) र अन्य एलर्जीको संक्रमणका कारण पनि सास फेर्न समस्या हुनसक्छ ।
मुटुसम्बन्धी रोग सास फेर्ने समस्याको अर्को मुख्य कारण हो ।
बाथज्वरो अर्थात् ह्रयुम्याटिक भल्ब डिजिजले सास फेर्न गाह्रो बनाउँछ । बच्चा बेलामा बेटाहिमोलाइटिक स्ट्रप्टोकोक्कस नामक ब्याक्टेरियाको संक्रमणले टन्सिल हुँदा समयमै उपचार नगरेमा उक्त ब्याक्टेरियाले भल्ब बिस्तारै साँघुरो हुने वा चुहिने समस्या हुन्छ । जसकारण पछि सास फेर्न गाह्रो हुने समस्या हुन्छ ।
कोरोनरी मुटुरोग (मुटुलाई आवश्यक पर्ने रक्तसञ्चारको कमी) हुँदा मुटुको मांसपेशी रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरु साँघुरो वा बन्द हुनसक्छ । जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुन्छ, जसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ । यसले श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ ।
जन्मजात शिशुको मुटुमा प्वाल हुने समस्या सास फेर्न गाह्रो हुने अर्को एक कारण हो । मुटुको माथिल्लो भागमा पर्ने प्वाललाई एएसडी (एट्रियल सेप्टल डिफेक्ट) भनिन्छ भने मुटुको तल्लो भागमा वा दुई च्याम्बरको बीचमा हुने प्वाललाई भीएसडी (भेन्ट्रिकुलर सेप्टल डिफेक्ट) भनिन्छ । यी समस्याले सास फेर्ने समस्या हुनसक्छ ।
भल्बसम्बन्धी मुटुरोग समस्या र सेप्टल डिफेक्ट मध्ये कुनै एकको कारणले श्वासप्रश्वासमा समस्या भएको वा नभएको पत्ता लगाउन ‘इको कार्डियाग्राम’ गर्न सकिन्छ । जसमा हार्ट अल्ट्रासाउण्ड मेसिन प्रयोग गरिन्छ ।
रगतमा हेमोग्लोबिनको संख्या कम हुनु सास फेर्न गाह्रो बनाउने अर्को कारण हो । हेमोग्लोबिनको संख्या कम हुनुका कारण ‘मेनोरेजिया’ (महिनावारीको क्रममा हुने अत्यधिक रक्तस्राव), शरीरमा आइरनको कमी वा शरीरभित्र जुका भएमा पनि हुनसक्छ ।
यसका लागि रगत र दिसाको परीक्षण गर्न सकिन्छ । त्यसको रिपोर्ट सामान्य आएमा भने मुटुरोग विशेषज्ञ र पल्मोनरी फिजिसियनको परामर्शअनुसार मुटु वा फोक्सोसम्बन्धी समस्याका कारणले सास फेर्ने समस्या नभएको भनेर बुझ्न सकिन्छ ।