बागदेव दुग्ध सहकारीको उपाध्यक्ष पदका उम्मेदवार घिमिरेव्दारा उम्मेदवारी फिर्ता लिएको घोषणा, अब उदयराज पाण्डे र टुकबहादुर तिमल्सिनाबीच प्रतिस्पर्धा हुने

                     
  नेपाल लेख   २०८० पुष २१, शनिबार ०९:१३

निजगढ,बागदेव दुग्ध उत्पादक सहकारी संस्था निजगढको संचालक समितिको उपाध्यक्षका उम्मेदवारहरुलाई हिजो चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन अधिकृत अजयकुमार उप्रेतीले दिएको जानकारीअनुसार उपाध्यक्षका उम्मेदवार उदयराज पाण्डेलाई लालटिन, टुकबहादुर तिमल्सिनालाई मयुर र अर्का उम्मेदवार उम्मेदवार गोविन्द घिमिरेलाई भने गिलास चिन्ह प्रदान गरिएको छ । यता, उपाध्यक्षका उम्मेदवार घिमिरेले शुक्रवार निर्वाचन समितिलाई स्वघोषणा पत्र बुझाएर उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । उहाँले समितिलाई बुझाएको पत्रमा संचालक समितिको चयन सर्वसम्मत रुपमा हुनुपर्ने पक्षमा आफू रहेको र सोही अनुसार मनोनयन पत्र फिर्ता लिने समयसिमा भित्र नै उम्मेदवारी फिर्ता लिन लिखित जानकारी गराउदा पनि निर्वाचन समितिले आफ्नो नाम उम्मेदवारहरुको सूचिमा समावेश गरेकोमा विमति जनाउदै निर्वाचन प्रक्रियाबाट बाहिरिएको जनाउनुभएको हो ।

निर्वाचन अधिकृत उप्रेतीले भने मनोनयन पत्र फिर्ता लिने समय गुज्रिएपछि मात्रै उपाध्यक्षका उम्मेदवार घिमिरेले उम्मेदवारी फिर्ताको लागि निवेदन दिएकाले निर्वाचन प्रक्रिया अनुसार उहाँको उम्मेदवारी कायम नै रहेको र उहाँलाई गिलास चिन्ह प्रदान गरिएको जानकारी दिनुभएको छ । घिमिरेले निर्वाचनबाट बाहिरिएको घोषणा गरेपछि उपाध्यक्षको १ पदको लागि अब पाण्डे र तिमल्सिनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष लगायत अन्य पदमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि बिहीवार निर्वाचन समितिले संस्थाको अध्यक्षमा थानेश्वर सापकोटा अविरलसहितलाई निर्विरोध निर्वाचित भएको जानकारी गराएको थियो । आगामी पुष २७ गते मतदान हुने मतदानको लागि निजगढ नगरपालिकाका १३ वटै वडा २ हजार २ सयभन्दा बढी मतदाता रहेका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?