
निजगढ, डिभिजन सडक कार्यालय हेटौडाका प्रमुख एवंम डिभिजनल इन्जिनियर राजेशकुमार यादवले सोमवार निजगढ ८ को बकैया बाढी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको आग्रहमा डिभिजनल इन्जिनियर यादवसहित कार्यालयको प्राविधिक टोलीले पूर्वपश्चिम राजमार्गको बकैया पुल उत्तर र दक्षिणतर्फको कटान क्षेत्रको निरीक्षण गरेको हो ।
नगर प्रमुख पुरीले सडक कार्यालयको प्राविधिक टोलीलाई नगरपालिकाले मोहोरी क्षेत्रबाट ठूला ढुङ्गा ल्याएर र भत्केको सडक ढलानको स्ल्याब राखेर कटान रोकथामको लागि गरेको प्रयास बारे जानकारी गराउनुभएको थियो । नगर प्रमुख पुरीले बकैया पुल मुनिको पश्चिमी भागबाट नदी च्यानलाईज गरेर मात्र प्रभावकारी रुपमा नदी नियन्त्रण हुनसक्ने बताउदै सो कार्यमा आवश्यक सहयोग गर्न सडक कार्यालयका प्रमुख यादवसंग आग्रह गर्नुभएको थियो । उहाँले बकैया नदीमा पक्की तटबन्धन निर्माणको लागि पनि माग गर्नुभएको थियो ।
डिभिजनल इन्जिनियर यादवले पनि बकैया खोलाको पश्चिमतर्फको नदी उकास क्षेत्रलाई खनेर हटाइने बताउनुभयो । ‘केही कानुनी र प्राविधिक समस्याहरु छन, उहाँले भन्नुभयो, त्यसको हल गरेर नदीको पश्चिमतर्फको उकास क्षेत्रको मेटेरियल हटाइने छ । उहाँले खोलाको पश्चिमतर्फ थुप्रिएको ढुङ्गा, गिटी र बालुवा हटाएपछि खोलाको धार दुबैतर्फ बाँडिने र निजगढको आवादी क्षेत्रमा हाल भइरहेको कटान रोकथाम हुने बताउनुभयो ।
इन्जिनियर यादवले नगरपालिका र विपद् व्यवस्थापन समिति बाराको सहकार्यमा उक्त क्षत्रेमा थुप्रिएको ढुङ्गा, गिटी र बालुवा हटाएर पुलसंगै निजगढको बस्ति र राजमार्गलाई पनि सुरक्षित पारिने जानकारी दिनुभयो ।
पश्चिमतर्फको सतह उकासिएपछि केही वर्षदेखि बकैया खोलाले धार परिवर्तन गरेर पुलको तटबन्ध क्षेत्रमा क्षति पु¥याउदै आएको छ । २ साताअघि आएको बाढीले पूर्वी क्षेत्रको तटबन्धमा कटान तीव्र पारेपछि निजगढमा बाढी पस्ने खतरा बढेको थियो । नगरपालिकाको प्रयासमा नदी च्यानलाइजसंगै अस्थायी तटबन्ध निर्माण गरिएपछि हाल निजगढमा बाढी कटानको जोखिम कम भएको छ ।
निरीक्षणका नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, सडक कार्यालयका इन्जिनियरहरु, निजगढ नगरपालिकाका इन्जिनियर अशोक कुशवाह, सबन्जिनियर नविन खनाललगायतको सहभागिता रहेको थियो ।