
जितपुरसिमरा,टाँगियाबस्तिमा दुई साताअघि स्थानीय एक किसानको १० वटा बाख्रा बाघले मारेपछि स्थानीय बासिन्दा त्रासित भएका छन । बस्ति नजिकैको जंगलमा बाघको गतिविधि बढेपछि सर्वसाधारण घाँसदाउराको लागि जंगल जान र साँझ बिहान घरबाहिर निस्कन पनि डराएका हुन । बाघकै त्रासमा बस्तिका किसानले केही दिनदेखि जंगलमा चौपाय चराउन छोडेका छन । स्थानीय धनबहादुर थिङ्गले जंगलमा चराउन लगेको १० वटा बाख्रा दुई साताअघि बाघले आक्रमण गरेर मरेपछि गाउँमा त्रास फैलिएको हो । सो घटनापछि बस्ति नजिकैको जंगलमा बाघ बस्दै आएको स्थानीयले बताएका छन । स्थानीयलाई असुरक्षित पार्ने बाघ नियन्त्रण लिन सरकारले चासो नदेखाएको सर्वसाधारण असुरक्षित बनेको स्थानीय बासिन्दा एंवम जीतपुरसिमरा वडा नम्बर १६ की वडा सदस्य पबित्रा कार्की बताउनुहुन्छ । बस्ति निरक्षणको क्रममा आउनुभएका नगर प्रमुख मेयर राजन पौडेलले बाघले बाख्रा मारेर पीडित बनेको किसान परिवारमा राहतको लागि पहल गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म कुनै राहत नपाएको उहाँले बताउनुभयो । यता स्थानीय अगुवा रमेश सापकोटाले भने सरकारले नै स्थानीयलाई जंगलमा ल्याएर अलपत्र पारेर राखेको र अहिले गाउँलेहरुले जंगली जनावरको त्रास खेप्नु परेको बताउनुभयो । ०३२ सालदेखि बसोबास गर्दै आएको बस्तिमा हाल अंन्तर्राष्टिय विमानस्थलन निर्माणको लागि प्रस्ताव गरेको छ । विमानस्थल निर्माणको लागि सरकारले हालसम्म ३ करोड खर्च गरि सकेको भएपनि बस्ती ब्यवस्थापन र स्थानानन्तरणको काम भने अघि बढ्न नसकेको सापकोटाको भनाई रहेको छ ।