प्रधानमन्त्री बसेको रिसोर्ट बाहिर मतदाताको भीड, पैसा बाँडेको आरोप

                     
  नेपाल लेख   २०७९ मंसिर २, शुक्रबार २०:१४

डडेल्धुरा, नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन जित्न मतदातालाई पैसा बाँडिरहेका आरोप लागेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–८ रातो गुराँस रिसोर्टमा बसेका प्रधानमन्त्री देउवा माथि मतदातालाई पैसा बाँडिरहेको आरोप लागेको हो ।

बिहीबार राति १२ बजे मौन अवधि (स्थिर समय) शुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले भने निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफू बस्ने रिसोर्ट बाहिर मतदाताको भीड लगाएका हुन् ।

देउवाले निर्वाचन जित्न विगतमा पनि पैसा बाँड्दै आएको आरोप लाग्ने गरेको छ । रातो गुराँस रिसोर्टमा पैसा बाँडिरहेका खबर सुनेर जिल्लास्थित पत्रकारको टिम त्यहाँ पुग्दा मानिसहरूको भीड थियो । कतिपय पत्रकारको टिम देख्दा भागेका थिए भने कतिपय आफ्नो फोटो नखिचिदिन हारगुहार गरिरहेका थिए ।

सुरक्षा घेरभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा देउवाका सहयोगीले धम्की दिए । तर पनि पत्रकारले फोटो भिडियो खिच्न थालेपछि बाहिर रहेका सबैलाई गेटभित्र जान दिइएको थियो ।

बाहिर रहेका स्थानीयसँगै पत्रकार पनि भित्र जान खोजेपछि उनीहरूलाई रोकिएको थियो । कतिपय भित्र गएर देउवालाई भेट्न नपाएको गुनासो गरिरहेका थिए भने कतिपय पैसा दिएको भन्दै खुशी भएर फर्किरहेका थिए ।

प्रहरी प्रशासनलाई पत्रकारले ‘सुरक्षा थ्रेट’ भएको खबर गरेपछि रिसोर्ट पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी गाडीबाट बाहिर निस्किएनन् भने प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले अन्य प्रहरीलाई भीड हटाउन निर्देशन दिएका थिए ।

प्रहरीले भीड हटाएपछि रिसोर्ट पुगेकाहरू आ–आफ्नो घर लागेका थिए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?