टी–२० विश्वकपमा आयरल्यान्डलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा

                     
  नेपाल लेख   २०७९ कार्तिक १८, शुक्रबार १६:१९

(काठमाण्डौ) अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा समूह–२ बाट न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ। शुक्रबार एडिलेडमा भएको खेलमा आयरल्यान्डलाई ३५ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

न्युजिल्यान्ड ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो। टी–२० विश्वकपमा न्युजिल्यान्ड तेस्रोपटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो। न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ३५ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेल्दा फिन एलनले ३२ रन तथा ड्यारील मिचेल ३१ रन बनाएका थिए। त्यस्तै डेभोन कनवेले २८ रन जोड्दा ग्लेन फ्लिप्सले १७ रन जोडे ।

न्युजिल्यान्डविरुद्ध आयरल्यान्डका जोश लिटिलले ह्याट्रिक पूरा गरेका थिए । उनी जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने दोस्रा खेलाडी हुन्। उनी अघि युएइका लेग ब्रेक स्पिनर कार्तिक मय्प्पनले ह्याट्रिक लिएका थिए। समग्रमा विश्वकपमा भने यो छैटौँ ह्याट्रिक हो। यसअघि ब्रेट ली, कार्टिस क्याम्फर, वानिन्दु हसरङ्गा, कागिसो रवाडा, कार्तिक मयप्पनले ह्याट्रिक लिइसकेका छन् ।

लिटिलको १९ औं ओभरको दोस्रो बलमा केन विलियम्सन डेलानीबाट क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए। त्यसपछि उनले तेस्रो र चौथो बलमा जेम्स निसम र मिचेल सान्टनारलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरे ।

१८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनमा समेटियो। आयरल्यान्डका लागि पउल स्ट्रलिङले ३७ रन बनाउँदा कप्तान एन्डी बालविर्नाइले ३० रन बनाए। त्यस्तै जर्ज डकरेलले २३ रन बनाएँदा ग्यारेथ डेलिनले १० रन बनाए। पछिल्लो क्रम भने लगातार विकेट पतको सिकार भयो ।

न्युजिल्यान्डका लागि लक्की फर्गुसनले ३ विकेट लिँदा टीम साउदी, मिचेल स्यान्टनर र इश सोधीले समान २–२ विकेट लिएका थिए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?