सर्लाही ः सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ ।
लुटेरा समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ गोली प्रहार गरेका हुन्। आज बिहान करिब साढे १० बजेतिर ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए ।
प्रतिकार गर्नेबितिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाईते कार्कीले बताए। गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन्। लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भइनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।
तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि भर्खरै एम्बुलेन्समा काठमाडौं पठाइएको छ। हेलिकप्टर मगाइए पनि कुनै खाली नभएकाले एम्बुलेन्समै पठाइएको हो ।
लालबन्दी–२ जुटपानी निवासी कार्कीलाई ४ गोली लागे पनि शरिरको संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएको र उनी बोलिरहेको सरस्वती अस्पतालका सञ्चालक डा. राजीव साहले जानकारी दिए ।