निजगढ, विदेशबाट फर्केका नेपालीहरुलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसंगै उनीहरुको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो । बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीहरुलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एंव मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे, निजगढ नगरपाकिलाकाका प्रमुख सुरथ पुरी एंव उपप्रमुख सोममाया थिङ्गले सामग्री हस्तान्तरण गरेका हुन । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा रिटर्नी माईग्रेन्टको आयोजनामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ब्रिटिस काउन्सील, युरोपिएन युनियन र युएनडिपी लगायत संस्थाहरुको सहयोगमा निजगढ र कोल्हबीमा बिदेशबाट फर्किएका युवाहरुको लागि दिइएको १ महिने तालिम समापन कार्यक्रममा सामग्री वितरण गरिएको हो । युवाहरुलाई विद्युत, डकर्मी र धारा जडान संम्बिन्धि दिइएको थियो । तालिमको लागि छनौटमा परेको रौतहटस्थित साँझा व्यवसाय सीप विकास प्रालिले १ सय र सर्लाहीको उद्यमी विकास तथा रोजगार सृजना केन्द्रले ८० जना युवाहरुलाई तालिम दिएको थियो । तालिमपछि सहभागीहरुको स्कील टेष्ट गरिएको र उनीहरुले काम गर्ने औजारहरु वितरण गरिएको रिटर्नीका सचिव घिमिरेले बताउनुभयो । स्कील टेष्टमा सहभागी भएका युवाहरुलाई व्यवसायिक रुपमा काम गर्न संस्थाले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने सचिव घिमिरेले बताउनुभयो । उहाँले तालिम प्राप्त युवाहरुलाई स्वरोजगार बनाउन स्थानीय सरकारले यथासक्य सहयोग गर्नुपर्ने बताउनुभयो । कोल्हबीमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी माईग्रेन्ट बारा जिल्ला अध्यक्ष दिपेन्द्र सुवेदी, संवृद्धि नेपालका पुरन चौधरी र साँझा व्यवसायीका कार्यकारी निर्देशक सुरेशप्रसाद साह, उद्यमी विकास तथा रोजगार सृजना केन्द्रका निर्देशक हिमालय अधिकारीको उपस्थिति रहेको थियो ।