काठमाडौं :- नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा नेपाली चलचित्र ‘सायरा’ बन्ने भएको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच चलचित्र घोषणा गरिएको हो । ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग नेपाली ब्यानर डीबीआर मिडिया एन्ड मुभिज प्राली र आईविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।
भिलेज ब्वाय प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली चलचित्र बनाउन पाउँदा खुसी लागेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने मसहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटीमा पनि रिलिज गर्ने छौं’, पुस्करले भने ।
निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। ‘मलाई निर्देशकको रुपमा चयन गर्नु भएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौं’, उनले भने। फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिएका पुस्कर र विशाललाई धन्यवाद दिए ।
नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा ढुक्क छु । हामीले यसलाई हिन्दी भाषामा ओटीटीमार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौं’, उनले भने, ‘हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौं ।
फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका कलाकारको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकका बारेमा छिट्टै जानकारी दिने प्रस्तुतकर्ता रघुले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए । ‘फिल्म कसरी बन्छ र कसरी प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रस्ट छ । त्यसैले पनि काम गर्न उत्साहित छु’, आर्यनले भने ।
डान्सिङ रियालिटी शोमार्फत चिनिएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । ‘म राम्रो डेब्युको खोजिमा थिएँ । भनेझैं टिम पाउँदा डेब्यु गर्दैछु । भूमिका पनि सुहाउँदो छ’, कविताले भनिन् । दसैं तिहारका बीचमा छायांकन हुने ‘सायरा’को ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए ।